नेपाली राष्ट्रिय क्रिकेट टिम वुमन्स एसिया राइजिङ स्टारको समूह ‘ए’अन्तर्गतको पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ३० रनले पराजित भएको छ। शुक्रबार थाइल्यान्डमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १०७ रन मात्रै जोड्न सक्यो।
नेपालका लागि ओपनर ब्याटर विन्दु रावलले सर्वाधिक ३९ रन बनाइन्। उनले ४५ बलमा आठ चौका प्रहार गरिन्। अर्की ओपनर सम्झना खड्का ६ रनमा कट एन्ड बोल्ड भइन्। कप्तान पूजा महतो ११ रनमा क्याच भइन्। कविता कुँवर १८ र सीता रानामगर १९ रनमा अविजित रहे।पाकिस्तान ‘ए’का लागि अनोसा नासिरले सर्वाधिक तीन विकेट लिइन्। मोमिना रियासतले दुई र वाहिदा अख्तरले एक विकेट लिइन्।
त्यसअघि, पाकिस्तानका लागि कप्तान हप्सा खलिदले सर्वाधिक ४० रन बनाइन्। उनी ३९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै अविजित रहिन्। सवाल जुलिफरले १०, हुरैना साजादले १७, वाहिदा अख्तरले २३ रन बनाइन्। इमान नसिर नाै रनमा अविजित रहिन्।
नेपालका लागि कविता कुँवरले सर्वाधिक दुई विकेट लिइन्। मनीषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुबिना क्षेत्रीले एक–एक विकेट लिए। यस प्रतियोगितामा नेपाल, भारत ‘ए’, पाकिस्तान ‘ए’, युएई समूह ‘इ’ मा रहेर प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा बंगलादेश, मलेसिया, श्रीलंक ‘ए’ र थाइल्यान्ड छन् ।