५ फागुनदेखि निर्वाचनसम्म उत्तरी सीमानाकाको व्यापार प्रभावित हुने

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

आगामी ५ फागुनदेखि चीनसँगको व्यापार प्रभावित हुने गरी उत्तरी भन्सार नाकामा अवरोध हुने भएको छ । तिब्बतीयन नयाँ वर्षका कारण ५ देखि १८ फागुनसम्म चिनियाँ नागरिक सबै काम रोकेर घर फर्कने कारणले आयात प्रभावित हुने जानकारी चिनियाँ पक्षले भन्सार प्रशासनलाई गराएको छ । त्यसलगत्तै नेपालले निर्वाचन प्रयोजनका लागि सीमानाका सिल गर्ने भएकाले आगामी ५–२१ फागुनसम्म रसुवा, तातोपानीलगायतका नाकाबाट हुने व्यापार प्रभावित हुने भन्सार विभागले जनाएको छ ।

विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले ५ फागुनदेखि उत्तरी नाकाबाट हुने जाँचपास प्रभावित हुने अनौपचारिक जानकारी आएको बताए । ‘चिनियाँ पक्षबाट ५ फागुनदेखि भन्सार जाँचपास प्रभावित हुनेबारे अनौपचारिक जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘हाम्रा कारण पनि निर्वाचनको समयमा भन्सार नाका सिल गर्नुपर्ने हुँदा दुई साताभन्दा बढी समय आयात–निर्यात प्रभावित हुन सक्छ,’ उनले भने ।

उत्तरतर्फका सबै नाकाको जाँचपासमा अवरोध हुनेबारे चिनियाँ पक्षबाट जानकारी आएको उनले बताए । यद्यपि, नाका पूर्ण रूपले ठप्प नहुने उनको दाबी छ । ५ फागुनबाट हुन सक्ने अवरोधबारे भन्सार प्रशासनले व्यापारीलाई समेत जानकारी गराइसकेको छ । त्यसैले अहिले आयात हुने मालवस्तु छिटो भन्सार पास गराएर नेपालतर्फको यार्डमा ल्याउन व्यापारीहरू क्रियाशील भइरहेका छन् ।

नेपालका लागि चीन दोस्रो ठुलो व्यापारिक साझेदार हो । चालू आर्थिक वर्ष ०८२/८३ को पुस मसान्तसम्म कुल वैदेशिक व्यापारमध्ये चीनसँग २०.८७ प्रतिशत आयात र ०.४५ प्रतिशत निर्यात हिस्सा छ । चीनबाट खासगरी लत्ताकपडा, फलफूल, खेलौना र विद्युतीय सामग्री धेरै आयात हुने गरेको छ भने नेपालबाट हस्तकला, फेल्ट र कृषि वस्तुको निर्यात हिस्सा धेरै छ ।

५ फागुनबाट चिनियाँ भन्सार प्रशासन प्रभावित हुने भए पनि रसुवा, तातोपानीलगायतका भन्सार कार्यालयबाट हुने जाँचपासले भने निरन्तरता पाउने विभागले जनाएको छ । निर्वाचनको ७२ घण्टाअघि नेपाले चीनसहित भारतसँगको भन्सार नाकासमेत बन्द गर्ने अभ्यास छ ।
 

सुझावित समाचार