सन् १६८९ : राजाको शक्तिलाई नियन्त्रण गर्ने ‘इंग्लिस विल अफ राइट्स’ इंग्ल्यान्डको संसद्बाट पारित भयो । राजा जेम्स द्वितीयको निरंकुशताविरुद्ध उठेको ‘गौरवशाली क्रान्ति’को माग सम्बोधन गर्ने गरी विधेयक पारित भएको थियो ।
सन् १६३३ : पृथ्वी सूर्य वरिपरि घुम्छ भन्ने खोज सार्वजनिक गरेपछि त्यतिवेलाको शक्तिशाली चर्चमा परेको मुद्दा खेप्न ग्यालिलियो ग्यालिली रोम आइपुगे ।
सन् १६६८ : स्पेनले औपचारिक रूपमा पोर्चुगलको स्वतन्त्रतालाई स्वीकार गर्यो ।
सन् १८१५ : निरन्तर अस्तित्वमा रहेको विश्वको सबैभन्दा पुरानो बहस–समाज ‘क्याम्ब्रिज युनियन सोसाइटी’ यसै दिन स्थापना भएको थियो ।
सन् १८६७ : बेल्जियमको राजधानी ब्रसेल्स भएर बग्ने सिन नदीको दुर्गन्ध सहन नसकिने भएपछि माथिबाट छोप्न थालियो । त्यही भागमा अहिले ब्रसेल्सको मख्य केन्द्रीय मार्ग अवस्थित छ ।
सन् १९०७ : महिलाले पनि मताधिकार माग गर्दै महिला समूहका ४०० जनाले ब्रिटिस संसद् प्रवेश गर्ने प्रयास गर्दा ५६ जना पक्राउमा परे ।
सन् १९६० : फ्रान्सले आफ्नो उपनिवेश अल्जेरियामा अवस्थित साहारा मरुभूमिमा ७० किलोटनको पहिलो आणविक बम ‘जरब्वाज ब्लो’को सफल परीक्षण गर्यो । योसँगै फ्रान्स अमेरिका, सोभियत संघ र बेलायतपछि विश्वको चौथो आणविक अस्त्र सम्पन्न मुलुक बन्यो ।
सन् १९७४ : रुसी उपन्यासकार अलेक्ज्यान्डर सोल्झेनित्सीको सोभियत नागरिकता खोस्दै देश निकाला गरियो । अघिल्लो वर्ष पेरिसबाट कम्युनिस्ट पार्टीविरोधी ‘द गुलाग आर्किपेलागो’ प्रकाशित गरेपछि उनीविरुद्ध मुद्दा चलेको थियो । निर्वासित भएपछि उनले पश्चिम जर्मनीको शरण लिए ।
सन् १९८४ : युरी एन्ड्रोपोभको निधनपछि सोभियत संघको सत्तारुढ कम्युनिस्ट पार्टीको सातौँ महासचिवमा कोन्स्टानटिन चेर्नेन्को निर्वाचित भए । श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी कोन्स्टानटिन पनि एक वर्षपछि नै बिते ।
सन् २०१८ : विभिन्न भ्रष्टाचार मुद्दाको आरोप लागेका दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई उनको पार्टी ‘अफ्रिकन नेसनल कंग्रेस’ले राजीनामा दिन निर्देशन दियो ( भोलिपल्ट उनले राजीनामा दिए ।)