साबिक विजेता भारतले बिहीबार आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’मा एसोसिएट राष्ट्र नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा नौ विकेट गुमाएर २०९ रनको विशाल योगफल खडा गर्यो । प्रत्युत्तरमा नामिबिया १८.२ ओभरमा ११६ रनमै समेटियो । लगातार दोस्रो जित दिलाउने क्रममा भारतका लागि वरुण चक्रवर्तीले दुई ओभरमा ७ रन खर्चेर तीन विकेट लिए । अक्षर पटेलले दुई विकेट लिन २० रन खर्चे । यसैगरी, हार्दिक पान्ड्याले २१ रन दिएर दुई विकेट हात पारेका थिए । नामिबियाको ब्याटिङमा शीर्ष चार ब्याट्सम्यानबाहेक अन्य चल्न सकेनन् । ओपनर लुरेन स्टिनकाम्पले २० बलमा २९ तथा फान फिलियनले १५ बलमा २२ रन जोडेका थिए । कप्तान गेहार्ड इरामुसले ११ बलमा १८ रन जोडेका थिए ।
भारतको कमजोर फिनिसिङ
नामिबियासँगको प्रतिस्पर्धामा भारतको फिनिसिङ कमजोर बन्यो । भारत एक समय १८.२ ओभरमा २०५/५ को स्थितिमा थियो । तर, भारतले थप चार रन जोड्दा चार विकेट गुमायो । साबिक विजेता भारतले पहिलो पाँच विकेटका लागि विस्फोटक ब्याटिङ गरेको थियो । सञ्जु सामसन र ईशान किसनबिच पहिलो विकेटका लागि १.६ ओभरमा २५ रनको साझेदारी भएको थियो ।
ईशानले तिलक बर्मासँग दोस्रो विकेटका लागि ३१ बलमा ७९ रन बटुले । त्यसपछि हार्दिक पान्ड्या र शिवम दुबेबिच पाँचौँ विकेटका लागि ३९ बलमा ८१ रनको आक्रामक साझेदारी भएको थियो । भारतका लागि ओपनर किशनले २४ बलमा पाँच छक्का र ६ चौकाको सहयोगमा ६१ रन बनाए । तिलकले २१ बलमा २५ तथा सञ्जुले आठ बलमा २२ रन बटुले । हार्दिकले २४ बल सामना गरी समान चार चौका र छक्का प्रहार गरी ५२ रनको योगदान दिए । शिवमले १६ बलमा २३ रन बनाए । बलिङमा गेराड इरामुसले चार ओभरमा २० रन खर्चेर चार विकेट लिए ।
श्रीलंका १०५ रनले विजयी
विश्वकपअन्तर्गत समूह ‘बी’मा श्रीलंकाले ओमानलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पलेकले रंगशालामा पहिलो ब्याटिङ गरेको श्रीलंकाले पाँच विकेट गुमाएर २२५ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा ओमानले २० ओभरमा नौ विकेट गुमाएर १२० रन जोड्दा श्रीलंका १०५ रनले विजयी भएको हो । कमजोर सुरुवात गरेको श्रीलंकाले तीन ब्याट्सम्यानका अर्धशतकीय योगदानमा ओमानविरुद्ध विशाल योगफल खडा गरेको हो ।
कुशल मेन्डिसले ४५ बलमा सात चौकाको सहयोगमा ६१ रन बनाए । यसैगरी पवन रथनायकेले २८ बलमा आठ चौका र एक छक्काको मद्दतमा ६० रन जोडे । कप्तान दसुन सनकाले २० बल सामना गरी पाँच छक्का र दुई चौका प्रहार गरी ५० रनको योगदान दिए । मेन्डिस र रथनायकेले तेस्रो विकेटका लागि ५२ बलमा ९४ रन जोडेका थिए । सनका र मेन्डिसले चौथो विकेटका लागि २८ बलमा ६८ रनको साझेदारी गरे । मेन्डिसले वेलालागेसँग छैटौँ विकेटका लागि अविजित १० बलमा २५ रन जोडे ।
प्रत्युत्तरमा ओमानको ब्याटिङमा मोहमद नदिमले ५६ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । वासिम अलीले २० बल खेलेर २७ रन बटुले ।
यी दुईबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । श्रीलंंकाली बलरले १५ अतिरिक्त रन दिएका थिए । समूह ‘बी’मा श्रीलंकाले दुई खेलमा जित निकाली ४ अंक जोडेको छ । अस्ट्रेलिया र जिम्बावेले समान एक खेलमा २ अंक बटुलेका छन् । आयरल्यान्ड र ओमानले दुई–दुई खेल गुमाएका छन् ।