नयाँ उम्मेदवार रुचाउने क्षेत्र काठमाडौं २

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण
  • माधव नेपालबाहेक कोही पनि छैनन् दोहोरिएर जितेका, रास्वपाको बिरासत भत्काउने दाउमा एमाले, कांग्रेस, नेकपा र राप्रपा

काठमाडौंको पूर्ण सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसमेत समेटिएको काठमाडौं २ नयाँ उम्मेदवार रोज्ने क्षेत्रका रूपमा परिचित छ । यहाँका मतदाताले हरेक निर्वाचनमा नयाँ जनप्रतिनिधि चुन्दै आएका छन् । सहरी क्षेत्रका मतदाताको अपेक्षा सेवा, व्यवस्थापन र सुशासनको रहँदै आएको छ भने ग्रामीण भेगमा अझै पनि सडक, खानेपानी, सिँचाइजस्ता पूर्वाधारका विषय मुख्य मुद्दा बन्दै आएका छन् । त्यसैले उम्मेदवारले व्यवस्थित सहरीकरणदेखि कृषि र पर्यटनजस्ता विषय उठाउँदै आएका छन् । यो क्षेत्रमा अप्रत्याशित अनुहारसमेत निर्वाचित हुँदै आएका छन् । नानीमैया दाहाल, पद्मरत्न तुलाधर, मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झक्कु सुवेदीदेखि सोविता गौतमसम्म यो क्षेत्रबाट निर्वाचित भए । यो क्षेत्रमा माधवकुमार नेपाल मात्र दोहोर्याएर सांसद निर्वाचित भएको इतिहास छ ।

काठमाडौं २ मा १६ दल र १२ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाबाट सुनील केसी, एमालेबाट मणिराम फुयाँल, कांग्रेसबाट कबिर शर्मा, नेकपाबाट नितेश पौडेल, राप्रपाबाट कुन्तीदेवी पोखरेल, नेकपा संयुक्तबाट उपेन्द्र कार्की, उज्यालो नेपाल पार्टीबाट पवन पोखरेल, नेमकिपाबाट शर्मिला माली, त्रिमूल नेपालबाट कृष्णबहादुर खत्री, आजपाबाट तिलकबहादुर मगर, प्रलोपाबाट बालचन्द्र श्रेष्ठ, राष्ट्रिय परिवर्तन पार्टीबाट अनुप बोहरा, जयमातृभूमि पार्टीबाट आनन्द सिंखडा, श्रम संस्कृति पार्टीबाट मुकुन्द कार्की, माओवादीबाट प्रकाश बुढाथोकी र राष्ट्रिय मुक्ति पार्टीबाट नर्वदाकुमारी भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारमा रूपक सिंखडा, अर्जुन ढुंगाना, तीर्थराज पौडेल, टपबहादुर थापा, सीता तिवारी, रूपक बस्ताकोटी, राजकुमार श्रेष्ठ, त्रिलोकबहादुर चन्द, मञ्जु लामा, इरा श्रेष्ठ, विश्वास बस्नेत, वीरेन्द्रकुमार साह छन् ।

२८ उम्मेदवारमध्ये ६ जना महिला छन् । दलबाट तीन र स्वतन्त्र पनि तीन उम्मेदवार महिला छन् । राप्रपाबाट कुन्तीदेवी पोखरेल, नेमकिपाबाट शर्मिला माली र राष्ट्रिय मुक्ति पार्टीबाट नर्वदाकुमारी भट्टराई तथा स्वतन्त्रबाट सीता तिवारी, मञ्जु लामा र इरा श्रेष्ठ छन् । 

गत निर्वाचनमा रास्वपाकी सोविता गौतम निर्वाचित भइन् । सधंँ नयाँ उम्मेदवार रोज्ने यो क्षेत्रमा एमाले र राप्रपाबाहेक अन्य दलले उम्मेदवार दोहोर्याएका छैनन् । गत निर्वाचनमा निर्वाचित गौतमसमेत चितवन ३ पुगेकी छिन् । रास्वपाले प्रदेशका पूर्वसांसद ४३ वर्षीय सुनील केसीलाई उम्मेदवार बनाएको छ । उनी अघिल्लो निर्वाचनमा राप्रपाबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । रास्वपाका वरिष्ठ नेता बालेन शाहको कोटाबाट उनी उम्मेदवार बनेका हुन् ।

कांग्रेसले ३७ वर्षीय कबिर शर्मा (फुयाँल)लाई उम्मेदवार बनाएको छ । उनी भूगर्भविद् हुन् । एमालेले अघिल्लो निर्वाचनमा पराजित ६० वर्षीय मणिराम फुयाँललाई नै मौका दिएको छ । ०७४ को निर्वाचनमा उनी प्रदेश सांसद निर्वाचित भएका थिए । राप्रपाले पनि गत निर्वाचनमा पराजित ३८ वर्षीया कुन्तीदेवी पोखरेललाई उम्मेदवार बनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले ३८ वर्षीय युवा नितेश पौडेललाई नै उम्मेदवार बनाएको छ । यसअघि, सहसंयोजक माधवकुमार नेपालले दुईपटक जितेको क्षेत्र हो यो । उनै नेपालको सचिवालयमा बसेर पौडेल चुनावी अभियानमा खटिएका थिए ।

हालसम्म क–कसले जिते ?
पहिलो निर्वाचन ०१५ मा डा. केआई सिंह नेतृत्वको युनाइटेड डेमोक्रेटिक पार्टीले जितेको थियो । लोचनशमशेर थापा निर्वाचित भएका थिए । ०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचनमा यो क्षेत्रबाट नानीमैया दाहाल निर्वाचित भइन् । जतिवेला काठमाडौंमा दुई क्षेत्र मात्रै थियो । ०४३ मा राष्ट्रिय पञ्चायतको अर्को निर्वाचनमा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधर निर्वाचित भए । ०४८ मा काठमाडौं पाँचवटा निर्वाचन क्षेत्र भयो । यो भेग क्षेत्र नम्बर १ मा पर्यो । जहाँबाट तत्कालीन अन्तरिक सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई एमालेका तत्कालीन महासचिव महासचिव मदन भण्डारीले पराजित गरे ।

०५० मा भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भयो । उपचुनावमा भण्डारीपत्नी विद्यादेवी भण्डारी निर्वाचित भइन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी मध्यावधि चुनाव घोषणा गरे । ०५१ को मध्यावधिमा काठमाडौंमा सात क्षेत्र भयो । यो क्षेत्रबाट एमालेका मनमोहन अधिकारी निर्वाचित भए । काठमाडौं ३ बाटसमेत निर्वाचित अधिकारीले यो क्षेत्र छाडेपछि उपनिर्वाचन भयो, एमालेकै नारायण ढकाल निर्वाचित भए । ०५६ को निर्वाचनमा एमालेबाट अधिकारी नै उम्मेदवार बने । तर, चुनावअगावै अधिकारीको निधन भएपछि निर्वाचन धकेलियो । उक्त निर्वाचनमा एमालेबाट प्रदीप नेपाल विजयी भए ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेर तत्कालीन माओवादीका झक्कु सुवेदी निर्वाचित भए । ०७० को निर्वाचनमा भने नेपाल निर्वाचित भए । रौतहट १ बाटसमेत निर्वाचित नेपालले यो क्षेत्र छाडेपछि उपनिर्वाचन भयो । उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कांग्रेसका दीपक कुइँकेल निर्वाचित भए । ०७४ को निर्वाचनमा नेपाल यही क्षेत्रबाट निर्वाचित भए । गत निर्वाचनमा रास्वपाका सोविता गौतम निर्वाचित भइन् ।

उम्मेदवारहरूको आ–आफ्नै दाबी

सुनील केसी, रास्वपा
सबैभन्दा ठुलो कुरा आफू पहिला इमानदार हुने र त्यसपछि भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा रहेर इमानदारितापूर्वक देश र जनताका लागि काम गर्ने हो । तीन वर्ष प्रदेशको सांसद हुँदा पनि म सडकमै रहेर काम गरेँ । समाजसेवामा केन्द्रित हुँदै आएको छु । काठमाडौं महानगरपालिकाका साथै कागेश्वर मनोहरा र शंखरापुर नगरपालिका पनि यो क्षेत्रमा पर्छ । ग्रामीण क्षेत्रमा बाटोको समस्या छ, कृषि क्षेत्रको पनि समस्या छ । देशमा बोलेर होइन, काम गरेर देखाउन उम्मेदवार बनेको छु । कोरोना र भूकम्पमा पनि फ्रन्टलाइनमा उभिएर सेवा गरेँ । प्रदेशमा पनि उठेर जितेँ । शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने, ट्राफिक जाम हटाउनुपर्ने, व्यवस्थित सहर निर्माण गर्नुपर्ने, कृषि र पर्यटनको क्षेत्रमा काम गर्नुपर्ने, भ्रष्टाचारमुक्त बनाउनुपर्ने, परिवर्तन सबैभन्दा पहिला आफैँबाट थाल्नुपर्नेछ ।

मणिराम फुयाँल, एमाले उम्मेदवार
पहिलो कुरा देशमा राजनीतिक स्थिरता हुनुपर्छ । अहिलेको निर्वाचन प्रणाली सधैँ त्रिशंकु संसद् जन्माउने प्रणाली भयो । कुनै पनि दलको बहुमतको सुनिश्चितता देखिएन । समावेशीलगायत संविधानको मर्म नछुटाईकन कसरी हुन्छ निर्वाचन प्रणालीबाट स्थायित्व कायम गर्ने गरी संविधान संशोधन गर्नुपर्नेछ । संविधानअनुकूलका कानुन बनाउन पनि ध्यान दिनुपर्छ । आर्थिक प्रणालीको कुरा छ, शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई बढी जोड दिनुपर्छ । यसका साथै क्षेत्रीय एजेन्डामा कोटेश्वर–जडीबुटीमा ट्राफिक जामले हैरान पारेको छ भने पटापतिर गाडी कुदाउने सडक नै छैन । मनोहरा करिडोर पनि अगाडि बढाउनुपर्नेछ । खानेपानीको व्यवस्थापन, शंखरापुरमा सडक स्तरोन्तरी गर्नुपर्नेछ । अव्यवस्थित बसोबासको समस्या छ । इमानदारिताको साथ काम गर्नेछु ।

कुन्ती पोखरेल, राप्रपा 
यो क्षेत्रबाट निर्वाचित सांसद प्रधानमन्त्री, राष्ट्रपतिसम्म भइसके पनि काठमाडौंको मुटुमा रहेको यो क्षेत्रको समस्या भने हालसम्म पनि समाधान हुन सकेको छैन । त्यसैले यहाँ प्रत्येक निर्वाचनमा सांसदहरू फेरिँदै आएका छन् । नीति निर्माणसँगै यो क्षेत्रको विकास गर्नुपर्नेछ । ट्राफिक जामदेखि बाटोको समस्या, खानेपानीको समस्या छ । कृषि र पर्यटन विकास गर्नुपर्नेछ । शालीनदीजस्ता धार्मिकस्थलहरूलाई विश्वभर प्रचार गरेर धार्मिक पर्यटन भिœयाउनुपर्नेछ । स्मार्ट सिटी बनाउनुपर्नेछ, युवालाई स्वरोजगार बनाउनुपर्नेछ । अर्कोतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा (राजसंस्था र हिन्दुराष्ट्र) देशका लागि अति आवश्यक भइसकेको छ र यसको चर्चा अहिले गल्ली–गल्लीमा हुन थालेको छ । अहिले देशमा दुईवटा धार छन्– एउटा प्रचण्डपथ र अर्को पृथ्वीपथ । पृथ्वीपथमा राप्रपा छ भने अन्य सबै दल प्रचण्डपथमा छन् । राप्रपाले बहुमत ल्याएमा राजेन्द्र लिङ्देन प्रधानमन्त्री बन्नुहुनेछ र हामीले संविधान फेरेर राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्नेछौँ ।

कबिर शर्मा, कांग्रेस उम्मेदवार 
मुख्यगरी सहरी क्षेत्रमा ट्राफिक जामको ठुलो समस्या छ, ग्रामीण कतिपय क्षेत्रमा बाटो नै पुगेको छैन । त्यसको समाधानका साथै खानेपानी समस्याको दिगो समाधान, मनोहरा करिडोरलाई व्यवस्थित गर्ने, कागेश्वरी मनोहरामा नयाँ व्यवस्थित सहर बनाउने योजना छ । शंखरापुरमा कृषि र पर्यटनको पूर्वाधर विकास गर्ने, धार्मिक पर्यटनको विकास गर्ने एजेन्डा छ । स्थानीय तहसँग समन्वय गरेर हरेक युवालाई रोजगारी दिने, किशोर अवस्थामै सबैलाई सिप दिएर युवा अवस्थामा आम्दानी गर्दै पढ्दै गर्ने स्वावलम्बी युवाको विकास गर्ने योजना छ ।

नितेश पौडेल, नेकपा
क्षेत्रका समस्या समाधान गर्ने गरी नीति निर्माणमा मुख्य ध्यान दिनेछु । साथै, व्यावहारिक पक्षमा जनताकै साथमा रहेर काम गर्नेछु । यहाँका समस्या र विकास निर्माणसँग घुलमिल हुँदै आएकाले योजनाबद्ध रूपमा काम गर्न सजिलो हुनेछ । ट्राफिक जाम हटाउने, बाटोघाटोदेखि खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा धेरै काम गर्नुपर्नेछ । रोजगारी र स्वरोजगारी सिर्जना गर्ने, विद्यार्थीलाई पढ्दै कमाउने वातावरण बनाउने, मनोरम पार्क निर्माण, व्यवस्थित खेलमैदान आदि पूर्वाधारको काम पनि गर्नुपर्नेछ । सांस्कृतिक सम्पदाको संरक्षण, सरकारी जग्गाको संरक्षण पनि मेरो प्राथमिकतामा छन् ।

कति छन् मतदाता, कुन–कुन ठाउँ पर्छ ?
काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये यो दोस्रो बढी मतदाता भएको क्षेत्र हो । यहाँ ८८ हजार ७०८ मतदाता छन् । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरको बालकुमारी पुलदेखि वडा नम्बर ९ बत्तीसपुतली हुँदै सिन्धुपाल्चोक र काभ्रेको दोसाँध छापभञ्ज्याङसम्म यो क्षेत्र फैलिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत ९ र ३२, कागेश्वरी मनोहराको ४ देखि ९ र शंखरापुर नगरपालिकाका सम्पूर्ण वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । 

काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नम्बर ९ र ३२ पूर्ण सहरी क्षेत्र हुन् । कागेश्वरी र शंखरापुर नगरपालिकाका केही वडा काँठ क्षेत्रका हुन् । शंखरापुरको नाङ्लेभारे, पटाप, जहरसिंहपौवा, लप्सेफेदी, पालुबारीलगायत ग्रामीण क्षेत्र छन् । काठमाडौंमा भएर पनि पटापमा हालसम्म कालेपत्रे सडक छैन । जहरसिंहपौवादेखि छापभञ्ज्याङसम्म पानीको संकट छ ।

सुझावित समाचार