पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रोपटक राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचाैँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौवटा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा पृथ्वी मावि बाक्सिलाले ३८ स्वर्ण, ३१ रजत र २५ कांस्य पदकसहित प्रथम उपाधि जितेको हो ।

बाक्सिला बजारस्थित पृथ्वी माविको प्रांगणमा आयोजित प्रतियोगितामा चार स्वर्ण, ६ रजत र पाँच कांस्य पदकसहित शुक्रजित मावि खार्ताम्छा दोस्रो तथा तीन स्वर्ण, चार रजत र पाँच कांस्य पदकसहित रेणुका मावि दिप्सुङ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु. ५५ हजार, दोस्रो हुने विद्यालयले नगद रु. ५० हजारको साथमा मेडल, प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु. ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगितामा सहभागी फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका विद्यालयलाई रु. ४० हजार, बास्पानी, सप्तेश्वरका विद्यालयलाई रु. ३५ हजार तथा बाक्सिलाका विद्यालयलाई रु. ३० हजार यातायात तथा व्यवस्थापन खर्च उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई सहभागीबापतको रकम प्रदान नगरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीलाई गाउँपालिकाका कार्यवाहक गाउँपालिका प्रमुख गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत सौधन राईले पुरस्कार वितरण गरेका छन् । भलिबल, सितोरियो कराँते, तेक्वान्दो, दौड, रिलेदौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रोलगायत विभिन्न विद्यामा ४७ स्वर्ण, ४७ रजत र ४७ कांस्य पदकका लागि प्रतिस्पर्धा गराइएको थियो । 

प्रतियोगिताका लागि गाउँपालिकाले रु. आठ लाख बजेट उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । पृथ्वी मावि बाक्सिलाको व्यवस्थापनमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका प्रमुख समीर राई, उपप्रमुख गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत सौधनले संयुक्त रूपमा गरेका थिए । 

गत वर्ष सञ्चालित चौथाे संस्करणको प्रतियोगितामा २३ स्वर्ण, दश रजत र सात कांस्य पदकसहित पृथ्वी मावि बाक्सिलाले उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेको पृथ्वी मावि बाक्सिलाले छैटौँ संस्करणको प्रतियोगिता पनि जितेको खण्डमा राष्ट्रपति रनिङ सिल्ड पच गर्दै आफ्नो बनाउनेछ । 
 

सुझावित समाचार