प्रेरक प्रसंग : मृत्युको समाचारमा मार्क ट्वेनको व्यंग्य

बिहिबार, २९ माघ, २०८२
डिजिटल संस्करण

मार्क ट्वेन विख्यात अमेरिकी लेखक तथा व्यंग्यकार हुन् । उनी साहित्यका अन्य विधामा जति चर्चित र सफल छन्, त्योभन्दा सफल र चर्चित छन्, हास्यव्यंग्य लेखनमा । उनी सामान्य घटना तथा परिस्थितिमा पनि गम्भीर हास्यव्यंग्य सिर्जना गर्ने खुबी राख्थे । परिस्थितिअनुरूप उनको हास्यव्यंग्य गम्भीर र अर्थपूर्ण पनि हुने गर्थे । एकपटक मार्क ट्वेन लामो अवधिसम्म गम्भीर बिरामी भए ।

उनी लामो समयसम्म घरबाट बाहिर निस्कन पनि सकेनन् । जसले गर्दा उनीबारे अनेकथरी हल्ला बाहिर आउन थाले । कतिपयले त उनको मृत्यु भएको हल्लासमेत चलाउन थाले । यसै क्रममा एउटा समाचार पत्रले त उनको मृत्यु भएको समाचार नै प्रकाशित गर्यो । 

मार्क ट्वेनले पनि आफ्नो मृत्युबारे प्रकाशित समाचार पढे । समाचार पढ्दा उनी अचम्मित भए । तर, आफ्नै मृत्युको समाचार पढ्दा पनि उनी रिसाएनन् । कसैप्रति कुनै आक्रोश जनाएनन् । उनी ठुला हास्यव्यंग्यकार थिए । त्यसैले, उनले आफ्नो मृत्युको समाचारबारे सटिक ढंगको टिप्पणी सार्वजनिक गरे । ‘मेरा शुभचिन्तक मित्रहरू, तपाईंहरूलाई निराश बनाउनुपर्दा आज मलाई धेरै दु:ख लागेको छ । तर, जहाँसम्म मलाई याद छ, म अझै जीवित छु । मरेको छैन ।’
 

सुझावित समाचार