सिन्धुलीमा बैंक डकैतीमा संलग्न सातजना कारागार चलान भएका छन्। गत २९ पुसमा घ्याङ्लेख गाउँपालिका– २, हायुटारस्थित नेपाल एसबिआई बैंकको शाखामा डकैती गर्नेहरू जिल्ला अदालत, सिन्धुलीको आदेशका आधारमा मंगलबार कारागार चलान भएका हुन्।
बैंकको शाखा कार्यालय रहेको घरका धनीसमेत रहेका घ्याङ्लेख गाउँपालिका– २, हायुटार बस्ने ४३ वर्षीय छविलाल स्याङ्तानसहित ४३ वर्षीय चतुरमान बजु, ५३ वर्षीय ज्ञानबहादुर भ्लोन तामाङ, चितवनको भरतपुर महानगरपालिका– २, पोखरा बसपार्क बस्ने २२ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका– ५, भेडाबारी बस्ने भरत मगरको छोरा २२ वर्षीय विवेक मगर र २३ वर्षीय मिलन गिरी अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए।
सो मुद्दामा पक्राउ परेका एक बालकलाई पनि पुर्पक्षका लागि सुधारगृह पठाउने आदेश भएको छ। सो घटनामा पक्राउ परेका गाडीचालकको भने गिरोहसँग मिलेमतो नदेखिएपछि उनलाई मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ।
सो समूहले नक्कली पेस्तोल देखाएर बैंकमा रहेको तीन करोड १० लाख ९५ हजार डकैती भएको थियो। डकैती गरेर भाग्ने क्रममा अधिकांश पक्राउ परेका थिए। डकैती भएकोमध्ये धेरै पैसा प्रहरीले बरामद गरिसकेको छ।