सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनको समयमा नेपाल प्रहरी वा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग आवश्यक परेमा तत्काल खटिन र त्यसका लागि आदेश लिइरहन नपर्ने निर्देशन दिएका छन् । माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भूकम्पजस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालनपश्चात् मुख्यालयमा जानकारी गराउनुहुन निर्देशन दिएका हुन् ।
‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नुपर्दैन, यही स्थायी आदेश हो,’ महानिरीक्षक अर्यालले भने । मंगलबार महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीमातहत परिचालन हुने निर्वाचन प्रहरीहरूलाई समेत पूर्ण आत्मविश्वासका साथ निर्वाचनमा परिचालन भई निर्वाचन सुरक्षामा खटिनुपर्नेमा जोड दिए। सोही दिन उनले स्याङ्जा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी बल नेपालका युनिटहरू पुगेर निर्वाचन सुरक्षाबारे जानकारी लिएका थिए । स्याङ्जास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरीय सुरक्षा समितिको पदाधिकारीहरूसँग महानिरीक्षक अर्यालले आसन्न निर्वाचनको सुरक्षाबारे जानकारी लिए।
निर्वाचन बिथोल्न खोज्नेहरूको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीबिच समन्वय र सहकार्य जरुरी रहेको बताउँदै उनले निष्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमी–कमजोरी नगर्न निर्देशन दिए। सो क्रममा स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिल्लामा नै आएर शान्तिसुरक्षाबारे जानकारी लिएकोमा सुरक्षा व्यवस्थापनमा थप ऊर्जा मिलेको बताए।
यसैगरी महानिरीक्षक अर्यालले स्याङ्जा वालिङस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म र निर्वाचन सुरक्षा बेस गल्याङ पुगेर निर्वाचन तयारीबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका छन् । यसैगरी मंगलबार नै उनले सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन् । सो क्रममा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक झुपाकुमारी पन्थीले निर्वाचन सुरक्षाबारे जानकारी गराउनुका साथै प्रमुख जिल्ला अधिकारी विनु बज्रचार्य कुँवरलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग जिल्लाको शान्तिसुरक्षा र निर्वाचन सुरक्षाबारे जानकारीसमेत लिएका थिए ।
महानिरीक्षक अर्यालले उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटिन र नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन कर्मचारीहरूलाई थप मद्दत र सहयोग आवश्यक परेमा आदेशविना नै तत्काल परिचालन हुन देशैभरका युनिटलाई निर्देशन दिएको जानकारीसमेत गराएका थिए । उनले बुधबार गुल्मी जिल्लाको शान्तिसुरक्षा निर्वाचन तयारीबारे पनि जानकारी लिएका छन् । उनले लुम्बिनी प्रदेशमा समेत निर्वाचन तयारीबारे स्थलगत भ्रमण, अनुगमन तथा जानकारी लिएका हुन् । यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुदूरपश्चिम प्रदेशअन्तर्गत नं. ७ बाहिनीमातहत सशस्त्र प्रहरी बल नेपालका युनिटहरूको अनुगमन गरी निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन् ।