सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको कपुरकोट गाउँपालिका– ३, चोरखोलानजिकै ग.१ज ३५६१ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका– ४ का चालक ३४ वर्षीय विजय विक रहेको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए। चालकसहित चारजना सवार जिप दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजना सानो बच्चा र दुई महिला रहेका छन् । घाइतेहरूको आधारभूत अस्पताल कपुरकोटमा प्राथमिक उपचारपश्चात् प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
रुकुम पूर्वबाट दाङ जाँदै गरेको जिप दुर्घटना भएको हो, गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन ।