कास्कीमा पुरानालाई नयाँको ‘डर’

मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले, रास्वपा र नेकपाबिच हुने अनुमान

बुधबार, २८ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यका लागि कास्कीमा तीन क्षेत्रमा निर्वाचन हुँदै छ । तीन सदस्यका लागि हुने निर्वाचनमा ६ स्वतन्त्रसहित ४९ जना मैदानमा उत्रेका छन् ।

उम्मेदवारहरूमध्ये एकजना दोहोर्याउने दाउमा रहँदा अधिकांश उम्मेदवारहरू नयाँ छन् । कास्कीका तीनमध्ये क्षेत्र नम्बर ३ मा ०७९ को निर्वाचमा विजयी एमालेका दामोदर पौडेल दोस्रोपटक मैदानमा होमिदा ठुला दलसँगै अन्य सबै उम्मेदवार अधिकांश नयाँ छन् । उम्मेदवारमध्ये ६० वर्षमाथिका सात, ४० देखि ६० वर्षभित्रका ३७ र ४० वर्षभन्दा तलका पाँचजना छन् ।

कास्कीमा दुई दर्जन हाराहारी दलका उम्मेदवार मैदान उत्रे पनि कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ०७९ को निर्वाचनमा एमाले, कांग्रेस, माओवादीलगायतका ठुला दललाई रास्वपाले चुनौती दिएको थियो । यसपटक उज्यालो नेपालसँगै श्रम संस्कृति पार्टी उदाउँदा दलका रूपमा देखिए पनि मुख्य प्रतिस्पर्धा भने तीन दलबिचमा हुने अनुमान कास्कीमा गरिएको छ । यसअघि कास्कीका तीन क्षेत्रमा एमालेले जित हात पार्दा प्राप्त गरेको मतका आधारमा दुई क्षेत्रमा १ र ३ मा कांग्रेस–माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार दोस्रो हुँदा २ नम्बरमा भने रास्वपाका उम्मेदवार दोस्रो भएका थिए । 

कास्कीका ४९ जना उम्मेदवारमध्ये ६० वर्षमाथिका सात, ४० देखि ६० वर्षभित्रका ३७ जना र ४० वर्षभन्दा तलका पाँचजना छन् । कास्की क्षेत्र १ बाट कांग्रेसका तिलक रानाभाट, एमालेका बैनबहादुर अधिकारी क्षेत्री, नेकपाका राजकाजी गुरुङ र रास्वपाका खडकराज पौडेल (गनेश), राप्रपाका बाबुराम थापा, राष्ट्रिय जनमोर्चाका रविमोहन ढकाल, उज्यालो नेपालका मनीषा द्वा, श्रम संस्कृतिका बिलबहादुर तामाङसहित १७ जना उम्मेदवार छन् ।

क्षेत्र २ बाट कांग्रेसका माधवप्रसाद बास्तोला (मधु), एमालेका रश्मि आचार्य, नेकपाका हेमबहादुर थापा पराजुली, रास्वपाका उत्तमप्रसाद पौडेल, राप्रपाका हेमजंग गुरुङ, उज्यालो नेपालका कुशल गुरुङसहित १७ जना उम्मेदवार छन् । क्षेत्र ३ मा कांग्रेसका मनोज गुरुङ, एमालेका दामोदर पौडेल, नेकपाका गोपाल गिरी, रास्वपाकी विना गुरुङ, राप्रपाका अर्जुनप्रसाद खनाल, उज्यालो नेपालका तर्कबहादुर गुरुङ, श्रम संस्कृतिका हितकाजी गुरुङसहित १५ जना उम्मेदवार छन् ।

यस्तो थियो यसअघिको अवस्था
देश संघीय संरचनामा गएपछि ०७४ मा भएको निर्वाचनमा कास्कीमा एमाले र माओवादीले गठबन्धन गर्दा तीन क्षेत्रमै एमालेका उम्मेदवार विजयी भएका थिए । ०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गर्दै कास्कीको एक–एक क्षेत्रमा आ–आफ्नो उम्मेदवारी दिए पनि तीनै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका थिए । निर्वाचनमा एमाले, कांग्रेस, माओवादीले प्रत्यक्षमा पाएको भन्दा समानुपातिकतर्फ कम मत ल्याउँदा रास्वपा र राप्रपाले प्रत्यक्षमा भन्दा समानुपातिकमा धेरै मत ल्याएका थिए । 

कास्की १ मा प्रत्यक्षतर्फ विजयी एमालेले २५ हजार ७०८ मत ल्याउँदा, कांग्रेस २३ हजार १८९, रास्वपा १० हजार ९४१, राप्रपा तीन हजार आठ मत ल्याएका थिए । समानुपातिकतर्फ एमाले २१ हजार ४४३, काग्रेस १६ हजार २८६, रास्वपा १५ हजार ८६४, माओवादी पाँच हजार १०८, राप्रपा तीन हजार ८६६ मत । त्यस्तै, कास्की २ मा प्रत्यक्षतर्फ विजयी एमालेले १६ हजार ९९८ मत ल्याउँदा, रास्वपा १२ हजार ४९५, एकीकृत समाजवादी नौ हजार ६५९, राप्रपा तीन हजार ९९३ मत ।

समानुपातिकतर्फ एमाले १४ हजार दुई, रास्वपा १३ हजार ५४०, काग्रेस १० हजार ५५३, राप्रपा चार हजार ४६५, माओवादी दुई हजार ४०४ मत । कास्की ३ मा प्रत्यक्ष तर्फ विजयी एमाले २२ हजार ९८० मत ल्याउँदा, माओवादी १७ हजार ५३६, रास्वपा १२ हजार १८०, राप्रपा दुई हजार ४४२ मत ।

समानुपातिकतर्फ एमाले १९ हजार ३४६, कांग्रेस १५ हजार ८३१, रास्वपा १४ हजार १४३, माओवादी तीन हजार ९६३, राप्रपा दुई हजार ९४१ मत ।

महिलालाई उपेक्षा
कास्कीमा ठुलासँगै साना दलले प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्दा महिलालाई उपेक्षा गरेका छन् । कास्कीका कुल ४९ उम्मेदवारमध्ये जम्मा पाँचजना मात्र महिला छन् । जसअनुसार कास्की १ बाट उज्यालो नेपालले मनीषा द्वा, कास्की २ बाट नेमकिपाले विनिता अवाल, कास्की ३ बाट रास्वपाले विना गुरुङ, नेमकिपाले मीना न्हिसुतु र नेसनल रिपब्लिक पार्टीले तिरथ गुरुङलाई उम्मेदवार बनाएको छ । 

See More On

सुझावित समाचार