सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

मंगलबार, २७ माघ, २०८२
डिजिटल संस्करण

सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मंगलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटिजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआइटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेका छन् ।

यो सामाजिक अभियानले देशभरका विद्यालयहरूमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेश प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा तीनदेखि १२ सम्मका विद्यार्थलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिनेछ ।

कार्यक्रमअन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हातेपुस्तक पनि तयार पारिएको छ । ती पुस्तक कार्यक्रम सत्रपश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्रछात्रालाई वितरण गरिनेछ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयनपश्चात् यो अभियान आगामी आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना रहेको छ । यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस् : एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सिबल युज अफ एआई’ रहेको छ ।

नेपालमा एनसेल र नासा सेक्युरिटिजले संयुक्त रूपमा सुरु गरेको कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार आयोजित एसआइटी सत्रका क्रममा गरिएको थियो ।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले सम्बोधन गर्दै डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे आफ्ना बुझाइहरू विद्यार्थीहरूसमझ साझा गरेका थिए ।

एसआइटी कार्यक्रम नेपालमा सुरक्षित अनि समावेशी डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिबद्धतासँग जोडिएको छ ।

‘म एक बाबु पनि हुँ, त्यसैले अभिभावकको रूपमा व्यक्तिगत डाटाको सुरक्षा मेरो लागि अत्यन्त महत्त्वपूर्ण विषय हो । आजको समयमा इन्टरनेटले हाम्रो दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा यससँग सम्बन्धित जोखिमहरू बुझ्नु र त्यसका लागि तयार रहनु झन् आवश्यक भएको छ । एसआइटी कार्यक्रममार्फत हामीले विद्यार्थी तथा युवाहरूलाई डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ रहन आवश्यक ज्ञान र सिप प्रदान गर्ने लक्ष्य राखेका छौँ । यस कार्यक्रमले नयाँ पुस्तालाई आफू सुरक्षित रहँदै डिजिटल अवसरहरूको अधिकतम उपयोग गर्न आवश्यक मार्गदर्शन र टुल उपलब्ध गराउनेछ भन्नेमा म आशावादी छु,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘डिजिटल प्लाटफर्महरूले युवाहरूले सिक्ने, अन्तर्क्रिया गर्ने वा प्रतिक्रिया जनाउने र निर्णय लिने तरिकालाई बढ्दो रूपमा प्रभावित गर्दै गएकाले उनीहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी बनेको छ। आजको विश्वमा डिजिटल साक्षरता र साइबर जागरण वित्तीय साक्षरतासरह नै महत्त्वपूर्ण छन् भन्ने विश्वास गर्दछौँ । एनसले फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित एसआइटी अभियानमार्फत हामी विद्यार्थीलाई प्रविधिको जिम्मेवार प्रयोग गर्ने, आफ्नो डिजिटल पदचिह्न संरक्षण गर्ने र डिजिटल इकोसिस्टममा सुरक्षित रूपमा नेभिगेट गर्न व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेका छौँ ।’

‘यो कार्यक्रमले नेपालभर जिम्मेवार डिजिटल सशक्तीकरण र सामुदायिक विकासप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले भने ।

हालसम्म एसआइटी सत्रहरू नौवटा विद्यालयमा सञ्चालन गरिसकिएको छ जसमा कास्कीमा रहेका श्री राष्ट्रिय माध्यमिक विद्यालय, श्री अमरसिंह माध्यमिक विद्यालय, लिटल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल स्कुल, सेन्टमेरिज स्कुल र रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल छन् ।

साथै ललितपुरमा सेन्टमेरिज स्कुल, बानी विलास हाइस्कुल र भक्तपुरमा आदर्श हाइस्कुलमा एसआइटी सत्रहरू सञ्चालन भइसकेका छन्। कार्यक्रम कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ । यी सत्रहरूबाट सात हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् ।

सुझावित समाचार