विशेष अदालतले हिनामिना गरी भ्रष्टाचार गरेको एक मुद्दामा मंगलबार सफाइको फैसला गरेको छ। पोखराको एक विद्यालयको जग्गा बोर्डिङ स्कुललाई प्रयोग गर्न दिएको विषयमा साढे दुई महिनाअघि दायर मुद्दामा यस्तो फैसला आएको हो।
पोखरा–१ स्थित सानो टुँडिखेलको राष्ट्रिय माध्यमिक विद्यालयको अन्दाजी चार रोपनी जग्गा बोर्डिङ स्कुललाई प्रयोग गर्न दिएको भेटिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ७ मंसिरमा यस प्रकरणमा नाैजनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकोमा सबैले सफाइ पाएका हुन्।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला गरेको हो। यस मुद्दामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणा, वडा नं. १ की अध्यक्ष तथा पदेन सदस्य साहारा प्रधान र व्यवस्थापन समिति सदस्यहरू वरुणविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने र नारायणप्रसाद चापागाईं प्रतिवादी बनाइएका थिए। साथै अञ्जुली बोर्डिङ स्कुल प्रा.लि. र त्यसका सञ्चालक राजु केसी तथा प्रिन्सिपल सुनिता कुँवर केसीविरुद्ध पनि मुद्दा दर्ता भएको थियो।
अख्तियारको अनुसन्धानअनुसार सामुदायिक विद्यालय व्यवस्थापन समितिले उक्त निजी विद्यालयलाई नै जग्गा तथा त्यसमा बनेका संरचना प्रयोग गर्न दिने गरी ०८० फागुन २९ गते सम्झौता गरेको थियो। १२ वर्षका लागि सरकारी विद्यालयको संरचना निजीलाई प्रयोग गर्न दिने गरी भएको यो सम्झौता प्रचलित कानुनविपरीत रहेको भनी महानगरपालिकाको शिक्षा महाशाखाले प्रतिवेदन दिएको थियो।
सार्वजनिक सम्पत्ति निजीले प्रयोगमा ल्याई सोबापतको रकम असुल गर्नु गैरकानुनी रहेको दाबीसहित अख्तियार अदालत पुगेको थियो। यसमा १५ लाख २९ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलेकोमा सबैले सफाइ पाएका हुन्।