सप्तरीको रूपनी गाउँपालिका– १ की वडाध्यक्ष लीला यादवले आफ्नै श्रीमानसहितको समूहलाई आर्थिक लाभ पुर्याउन झुटो विवरण प्रमाणित गरेको फेला परेको छ। साबिकको गाउँ विकास समिति नकटीरायपुर– ८ (हाल रूपनी– १) जग्गामा रहेको बहुमूल्य घरहरूलाई ‘अस्तित्वमै नरहेको’ भन्दै वडाध्यक्ष यादवले झुटो घरबाटो सिफारिस गरेकी हुन्।
साबिक नकटीरायपुर– ८ ख को कित्ता नम्बर १६९५ मा रहेको विना थापा र रचनासिंह थापाको नामको एक बिघा ४.५ धुर जग्गामा भौतिक संरचना (आवासीय घर) छन्। तर, उक्त जग्गा आफ्नो परिवार र समूहको नाममा नामसारी गर्न सजिलो होस् भन्ने उद्देश्यले वडाध्यक्ष यादवले त्यहाँ कुनै घर नभएको भनी झुटो विवरण सिफारिस गरेकी हुन्। आफ्नै श्रीमानसहितको समूहलाई जग्गाको प्रकृति लुकाएर राजस्व छल्ने खेलमा वडाध्यक्ष स्वयं संलग्न भएको खुलेको छ।
गत ७ माघमा रूपनी गाउँपालिका– १ की वडाध्यक्ष यादवले भूमिसुधार मालपोत कार्यालयलाई घरबाटो प्रमाणित गरेको ७७७ चलानी नम्बरको पत्रमा साबिक रायपुर– ८ ख को कित्ता नम्बर १६९५ मा रहेको विना थापा र रचनासिंह थापाको नामको एक बिघा ४.५ धुर जग्गामा घर नभएको १० फिट पक्की बाटो भएको सिफारिस गरेकी हुन्।
वडाध्यक्ष यादवका श्रीमान् पीताम्बर यादवका नाममा साबिक नकटीरायपुर– ८ ख किता नम्बर २०८७ र २०९१ मा जनही १८ धुर लिएको छ। रिताकुमारी यादव, फुलकुमारी यादव र सुनिता यादवको संयुक्त जग्गा साबिक नकटीरायपुर– ८ ख कित्ता नम्बर २०८६ का दुई कट्ठा ६ धुर गएको छ। त्यस्तै, सञ्जयकुमार यादव, सत्यनारायण यादव, पीताम्बर यादव, सीताकुमारी यादव, फिलकुमारी यादव र आरतीकुमारी यादवको नाममा संयुक्त साबिक नकटीरायपुर– ८ ख जग्गा कित्ता नं. २०८८ का १ कट्ठा ७ धुर गएको छ। त्यस्तै, रामएकवाल यादव र आरतीकुमारी यादवको नाममा संयुक्त जग्गाका साबिक नकटीरायपुर– ८ ख कित्ता नम्बर २०८९ मा ८ धुर लिएको छ, त्यस्तै सत्यनारायण यादव, पीताम्बर यादव, आरती यादव र सञ्जयकुमार यादवको संयुक्त नाममा साबिक नकटीरायपुर– ८ ख कित्ता नम्बर २०९० का चार कट्ठा तीन धुर गएको छ भने बाँकी रचनासिंह र विना थापाका नाममा कित्ता नम्बर २०९२ का १० कट्ठा ४.५ धुर जग्गा गएको छ।
नागरिक अभियन्ता राजु जैसवालले वडाध्यक्ष यादवले शक्तिको आडमा सरकारी कागजपत्र किर्ते गरेको र राज्यको ढुकुटीमा जाने राजस्व हिनामिना गरेको बताए। ‘जग्गामा स्पष्ट रूपमा घरहरू देखिँदा–देखिँदै पनि आफ्नै परिवारलाई लाभ हुने गरी झुटो सिफारिस गर्नु पदको घोर दुरुपयोग हो,’ जैसवालले भने, ‘किर्ते कागजात खडा गरेर सरकारलाई राजस्व ठगी गर्ने वडाध्यक्ष र यसमा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही हुनुपर्छ।’
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका प्रमुख किशोर रामले ती जग्गा रोक्का भएको बताए। उनले भने, ‘हामीलाई जानकारी आएलगत्तै ती जग्गा रोक्का गरेका छौँ, व्यापक रूपमा राजस्व छली भएको विषयमा अनुसन्धान भइरहेको छ।’
रूपनी गाउँपालिका– १ का वडाध्यक्ष लीला यादवले प्रतिक्रिया दिन मानिनन्। ‘के कसो भएको हो भोलि वडा कार्यालय आउनुस् अनि मात्र भन्छु,’ उनले भनिन्।
वडाध्यक्षका पति भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति
रूपनी गाउँपालिका– १ की वडाध्यक्ष लीला यादवका श्रीमान् पीताम्बर यादव नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएर भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएर कैद सजाय काटेका व्यक्ति हुन्। रूपनी गाउँपालिका– १ का निवर्तमान वडाध्यक्षसमेत रहेका पीताम्बर ०७४ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनी १५ माघ ०६९ देखि १० जेठ ०७४ सम्म जिल्ला शिक्षा कार्यालय दैलेखमा सबइन्जिनियर पदमा कार्यरत थिए। उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएको आरोपमा अख्तियारमा उजुरी परेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक अनुसन्धानपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले २१ पुस ०७४ मा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)को कसुरमा दोषी ठहर गर्दै यादवलाई ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो।
भ्रष्टाचार मुद्दा चलिरहँदा नै यादवले जागिर छाडेर चुनाव लडेका थिए। वडाध्यक्षमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादवविरुद्ध स्थानीयले उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषणसम्बन्धी मुद्दा दायर गरेपछि अदालतबाट वडाध्यक्ष पदमा निलम्बित गर्ने गरी आदेश जारी भएको थियो। उच्च अदालतबाट २१ मंसिर ०७५ मा भएको सो आदेशमा पुनर्विचारका लागि यादवले सर्वोच्च अदालतमा गरेको निवेदनमा अदालतबाट अन्तरिम आदेश जारी भएको थियो। उच्च अदालतको मुद्दा दोहोर्याइपाऊँ भनी गरिएको निवेदनमा सर्वोच्चले वडाध्यक्षको रूपमा कामकाजमा रोक नगर्न–नगराउने भनी गाउँपालिकाको नाउँमा आदेश जारी गरेपछि यादव कामकाजमा फर्किए। तर, सर्वोच्चले २२ फागुन ०८० मा विशेषको फैसला सदर गरेपछि यादव लुकिछिपी बस्दै आएका थिए। त्यसपछि अदालतले सजाय तोकेपछि करिब एक वर्षदेखि फरार रहेका यादव ३० चैत ०८१ मा पक्राउ परेका थिए।