रास्वपा वरिष्ठ नेता बालेन महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घरमा पुगेका छन्। चुनावलक्षित यात्रामा रहेका बालेन जनकपुरबाट जलेश्वर हुँदै सिधा गाउँको घर पुगेका हुन्।
सुरुमा जनकपुरबाट धनुषाकै नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर र एकडारा पुग्ने कार्यक्रम रहे पनि रुट परिवर्तनपछि उनी जनकपुरबाट जलेश्वरको बाटो गाउँ पुगेका हुन्।
महोत्तरी क्षेत्र नं ३ मा पार्टीका उम्मेदवार उज्ज्वल झाको घरअगाडि गाडीबाटै उनले घन्टी बजाउँदै मतदातालाई अभिवादन गरेका थिए। यद्यपि उनले कुनै सम्बोधन गरेनन्। त्यसपछि आफ्नो घर पुगेर कुल देउता ढोगेर उनी अघि बढे। गाउँपालिका कार्यालय रहेको घरको दुईवटा कोठा बालेनकै परिवारले प्रयोग गर्दै आएका छन्।
सम्सीको बाटो हुँदै गौशाला पुगको बालेन आजै बर्दिवास पुग्ने कार्यक्रम रहेको रास्वपाको महोत्तरी जिल्ला सभापति शुभम् कुमार यादवले जानकारी दिए। उनले धनुषाको नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वरको रुट सुरक्षा कारणले रद्द भएको बताए।
योसँगै बल्वा सरपल्लो पुग्ने कार्यक्रमसमेत रद्द भएको छ। बालेनले जलेश्वरनाथ महादेवको मन्दिरअगाडि गाडीबाटै ढोगेका थिए।