गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौताको घोषणा गर्दा उनले सम्झौताको एक अंशको रूपमा नयाँदिल्ली रुसी ऊर्जाबाट टाढा रहने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी तेल किन्न बन्द गर्ने र यसको सट्टा संयुक्त राज्य अमेरिका र भेनेजुएलाबाट कच्चा तेल किन्न वाचा गरेको ट्रम्पले दाबी गरे । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई जनवरीको सुरुमा अमेरिकी विशेष सेनाले अपहरण गरेदेखि नै अमेरिकाले भेनेजुएलाको विशाल तेल उद्योगलाई प्रभावकारी रूपमा नियन्त्रणमा लिएको छ ।
बदलामा, ट्रम्पले भारतीय सामानमा व्यापार शुल्क कुल ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेका छन् । त्यो ५० प्रतिशत शुल्कको आधा भाग गत वर्ष भारतले रुसी तेल किनेकोमा सजायको रूपमा लगाइएको थियो, जसलाई ह्वाइट हाउसले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धलाई आर्थिक सहयोग गरिरहेको दाबी गर्छ ।
भारतले रुसी तेल खरिद बन्द गर्छ र भेनेजुएलाको कच्चा तेललाई अँगाल्ने प्रतिबद्धता जनाएको छ भन्नेबारे नयाँदिल्लीले सार्वजनिक रूपमा पुष्टि नगरेको विश्लेषकहरू टिप्पणी गर्छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार पत्रकारलाई भने कि रुसले पनि भारतबाट यसको कुनै संकेत पाएको छैन ।
अनि, रुसी तेलबाट भेनेजुएलाको तेलमा जान सजिलो भने हुनेछैन । ऊर्जा बजारमा आउने झट्का, लागत, भूगोल र विभिन्न प्रकारका तेलका विशेषताजस्ता अन्य कारणले नयाँदिल्लीको तेलको स्रोतको निर्णयलाई जटिल बनाउनेछ । त्यसो भए के भारतले साँच्चै रुसी तेल छाड्न सक्छ ? के भेनेजुएलाको कच्चा तेलले यसलाई प्रतिस्थापन गर्न सक्छ ?
ट्रम्पको योजना के छ ?
ट्रम्पले महिनौँदेखि भारतलाई रुसी तेल किन्न बन्द गर्न दबाब दिइरहेका छन् । २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र युरोपेली संघले युद्धका लागि वित्तपोषण गर्ने रुसी क्षमतालाई सीमित गर्न रुसी कच्चा तेलको मूल्यसीमा तोकेका थिए ।
फलस्वरूप, भारतलगायत अन्य देशले ठुलो मात्रामा सस्तो रुसी तेल किन्न थाले । युद्धअघि रुसबाट आफ्नो तेलको २.५ प्रतिशत मात्र प्राप्त गर्ने भारत, चीनपछि रुसी तेलको दोस्रो ठुलो उपभोक्ता बन्यो । हाल यसले आफ्नो तेलको लगभग ३० प्रतिशत रुसबाट प्राप्त गर्छ । गत वर्ष, ट्रम्पले यसको सजाय स्वरूप भारतीय सामानमा व्यापार शुल्क २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्याएका थिए । वर्षको पछि ट्रम्पले रुसका दुई ठूला तेल कम्पनीमाथि पनि प्रतिबन्ध लगाए र यी फर्मसँग व्यापार गर्ने देश र संस्थाविरुद्ध दोस्रो प्रतिबन्ध लगाउने धम्की दिए । जनवरीको सुरुमा अमेरिकी सेनाद्वारा मदुरोको अपहरणपछि ट्रम्पले भेनेजुएलाको तेल क्षेत्रलाई प्रभावकारी रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । भेनेजुएलामा विश्वको सबैभन्दा ठुलो प्रमाणित तेल भण्डार पनि छ (अनुमानित ३०३ अर्ब ब्यारेल), जुन विश्वको सबैभन्दा ठुलो तेल उत्पादक अमेरिकाको भन्दा पाँच गुणा बढी हो । तर, अमेरिकाको दृष्टिकोणबाट भारतलाई भेनेजुएलाको तेल किन्न लगाउनु अर्थपूर्ण भए पनि यो सञ्चालनका हिसाबले अस्तव्यस्त हुन सक्ने विश्लेषकहरू बताउँछन् ।
रुसबाट कति तेल आयात गर्छ ?
विश्लेषण कम्पनी केप्लरका अनुसार भारतले हाल प्रतिदिन लगभग ११ लाख ब्यारेल (विपिडी) रुसी कच्चा तेल आयात गर्छ । ट्रम्पको बढ्दो दबाबका कारण यो डिसेम्बर २०२५ मा औसत १.२१ मिलियन ब्यारेल विपिडीभन्दा कम र २०२५ को मध्यमा २० लाख ब्यारेल विपडीभन्दा बढी हो ।
एक ब्यारेल १५९ लिटर (४२ ग्यालन) कच्चा तेलबराबर हुन्छ । एकपटक प्रशोधन गरिसकेपछि एक ब्यारेलले सामान्यतया कारका लागि लगभग ७३ लिटर (१९ ग्यालन) पेट्रोल उत्पादन गर्छ । जेट इन्धनदेखि प्लास्टिक र लोसनलगायत घरायसी वस्तुसम्म विभिन्न प्रकारका उत्पादन गर्न तेललाई पनि प्रशोधन गरिन्छ ।
भारतले रुसी तेल खरिद रोकेको छ ?
भारतले विगत एक वर्षदेखि रुसबाट खरिद गर्ने तेलको मात्रा घटाएको छ, तर यसले यसलाई पूर्ण रूपमा खरिद रोकेको छैन । ट्रम्पको बढ्दो दबाबमा गत अगस्टमा भारतीय अधिकारीले अमेरिका र युरोपेली संघले नयाँदिल्लीलाई रुसी कच्चा तेलबाट पछि हट्न दबाब दिएको ‘पाखण्डशैली’को आलोचना गरे । ‘वास्तवमा, भारतले रुसबाट आयात गर्न थाल्यो, किनभने द्वन्द्व सुरु भएपछि परम्परागत आपूर्ति युरोपतिर मोडिएको थियो,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले त्यतिवेला भनेका थिए । उनले थपे कि रुसी तेल आयात गर्ने भारतको निर्णय ‘भारतीय उपभोक्तालाई अनुमानित र किफायती ऊर्जा लागत सुनिश्चित गर्न’ थियो । यसका बाबजुद, चीनपछि रुसी तेल खरिद गर्ने दोस्रो ठुलो समूह भारतीय रिफाइनरहरूले हालको निर्धारित अर्डर पूरा गरेपछि आफ्नो खरिद बन्द गरिरहेको बताइएको छ ।
हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल), मंगलोर रिफाइनरी एन्ड पेट्रोकेमिकल्स लिमिटेड (एमआरपिएल) र एचपिसिएल–मित्तल इनर्जी लिमिटेड (एचएमइएल) जस्ता प्रमुख रिफाइनरीले गत वर्ष रुसी तेल उत्पादकविरुद्ध अमेरिकी प्रतिबन्धपछि रुसबाट खरिद रोकेका थिए । इन्डियन आयल कर्पोरेसन (आइओसी), भारत पेट्रोलियम कर्पोरेसन र रिलायन्स इन्डस्ट्रिजजस्ता अन्य खेलाडीले चाँडै आफ्नो खरिद बन्द गर्नेछन् ।
यदि भारतले रुसी तेल आयात पूर्ण रूपमा बन्द गर्न चाहे पनि विश्लेषकको तर्क छ कि त्यसो गर्नु अत्यन्तै महँगो हुनेछ । गत वर्ष सेप्टेम्बरमा भारतका तेल तथा पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले पत्रकारलाई भनेका थिए कि नयाँदिल्लीले ऊर्जाको मूल्य र इन्धनको मुद्रास्फीतिमा पनि तीव्र वृद्धि गर्नेछ । ‘आपूर्ति अवरुद्ध भएमा विश्वले गम्भीर परिणामहरूको सामना गर्नेछ । विश्वले रुसलाई तेल बजारबाट टाढा राख्न सक्दैन,’ पुरीले भने । विश्लेषकहरू सहमत हुने सम्भावना बढी हुन्छ । ‘भारतले रुसी तेल खरिद गर्दा पूर्ण रूपमा रोक लगाउनु ठुलो अवरोध हुनेछ ।
शर्मा स्वतन्त्र पत्रकार हुन्
अलजजिराबाट