पाँच वर्षमा पूर्वाधार विकासमा रूपान्तरण गर्छौँ : थापा

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति गगन थापाले जनजीवनसँग जोडिएका आयोजना समयमै, गुणस्तरीय तथा पारदर्शी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सार्वजनिक भएको सात मिनेट १५ सेकेन्डको भिडियो सम्बोधनमा सभापति थापाले तीन दर्जन कानुन संशोधन गरेर परियोजना यथाशक्य सम्पन्न गर्नुपर्नेमा जोड दिँदै पाँच वर्षमा रूपान्तरणकारी पूर्वाधार निर्माण गर्न सकिने पनि बताए । 

‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठुलो समस्या छ । यसले विकासको लागत त बढाएको छ नै, सँगै आर्थिक उत्पादकत्वमा पनि ठुलो असर पारेको छ, जसको लागत पनि उच्च छ,’ उनले भने, ‘यसमा कर्मचारीलाई निर्देशन दिएर, ठेकेदारलाई थर्काएर, ठेक्का तोडेर समाधान हुँदैन । यो विषय उठाउँदै आएको छु, अहिले पनि यही हो । मलाई विश्वास छ, पाँच वर्षमा पूर्वाधारका क्षेत्रमा हामीले रूपान्तरणकारी काम गर्न सक्छौँ ।’ 

थापाले पूर्वाधार विकासका समस्या पहिचान गर्ने प्रयास आफूले गरिरहेको पनि बताए । ‘अब योभन्दा अगाडि यस्तो हुनुहुँदैन । आयोजनाहरू हिजो सम्पन्न गर्न सकिएन, अब सम्पन्न हुनुपर्छ । यस सम्बन्धमा मैले केही तयारी गरेको छु,’ उनले भने । 

थापाले तीन दर्जन कानुन परिमार्जन, खारेज वा संशोधन हुनैैपर्ने तथा काम गर्ने तरिका र संस्कृति बदल्नुपर्नेमा पनि जोड दिएका छन् । ‘सडक ऐन ४८ वर्ष पुरानो छ, सडक नियमावली बनेकै छैन । सार्वजनिक खरिद ऐन २० वर्ष पुरानो छ । हाम्रो अध्ययनले के देखायो भने पूर्वाधार समयमा बन्ने कुराका लागि संशोधन, परिमार्जन गर्नुपर्ने, खारेज गर्नुपर्ने तीन दर्जन कानुन रहेछन् । योजनाको छनोट, राजनीतिक हस्तक्षेप, दबाबबाट सुरु हुनुुपर्छ । योजनाको छनोटमा पूर्वाग्रह राख्न नसक्ने गरी कानुनले बाँध्नुपर्छ,’ उनले भने । 

सुझावित समाचार