जिल्ला सदरमुकाम सिराहास्थित कारागारको अप्रेसनको क्रममा कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको छ। जिल्ला सुरक्षा समितिले सोमबार बिहानदेखि गरेको अप्रेसनको क्रममा कारागारभित्र अवैध रूपले राखिएको कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद भएको सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
प्रजिअ पौडेलका अनुसार सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील मानिने कारागारमा बन्देज रहेको हतियार बरामद भएपछि नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। ‘कारागारको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै १३ जनालाई कारागार व्यवस्थापन विभागसँग समन्वय गरी अन्य कारागारमा सरुवाको तयारी गर्दै छौँ,’ उनले भने।
कारागारमा आन्तरिक प्रशासन चलाउँदै आएका नाइके यादवसहितको टोलीले विगतमा पनि कुटपिटसहित कैदी बन्दीहरूबाट अवैध असुली गर्दै आएको सार्वजनिक भएको थियो। उनको समूहले गत ४ साउनमा कारागारभित्र १३ जना कैदीबन्दीमाथि निर्घात कुटपिट गरी घाइते बनाएपछि कारागारभित्रको अवस्था तनावग्रस्त बनेको थियो।
कारागार स्रोतका अनुसार नाइके यादवको समूहले आफूहरूले भनेको नमानेको भन्दै आइतबार १० जना कैदीबन्दीलाई आँखामा पट्टी र पछाडि लगी हात बाँधेर निर्घात कुटपिट गर्दै लखेटेपछि सुरक्षा समितिले अप्रेसन चलाएको जनाइएको छ। कारागारजस्तो संवेदनशील ठाउँमा हतियार बरामद भएपछि नाइकेसहितलाई प्रहरीले नियन्त्रणमा लिएर फर्किएलगत्तै केही कैदीबन्दीले भित्रपट्टिबाट पुराना कपडा बालेर नाराबाजी गरेको भए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
सिराहा कारागारमा दोहोरिँदै झडप
जिल्ला कारागारका चौकीदारको सुविधा उपभोग गरिरहेका कैदीले सुविधाको दुरुपयोग गर्दै कैदीबन्दीसँग रकम उठाउने गरेको आरोप लगाउँदै १२ चैत ०७९ बिहान करिब ८ बजेदेखि राति ८ बजेसम्म नाराबाजी भएको थियो। कारागारका तत्कालीन चौकीदार यादव गिरीमाथि कैदीबन्दीहरूले सांघातिक हमलाको प्रयास गरेपछि कारागार प्रशासनले उनलाई कारागार व्यवस्थापन विभागसँग समन्वय गरी सिन्धुली कारागार पठाएको थियो।
त्यसअघि ०७८ माघमा सिराहा कारागारका तीनजना कैदीलाई सरुवाका लागि रमानासहित निकाल्न खोजिँदा कैदीबन्दीहरूबिच झडप हुँदा चारजना घाइते भएका थिए। कारागार व्यवस्थापन विभागको पत्रअनुसार दुईजना कर्तव्य ज्यान र एकजना लागुऔषध मुद्दाका गरी तीनजना कैदीलाई सरुवा गराउन रमानासहित कारागारबाट निकाल्ने वेलामा झडप भएको थियो।
२४ कात्तिक ०८१ मा कारागारभित्र आन्तरिक प्रशासनको मिलेमतोमा प्रतिबन्धित वस्तुहरूको आपूर्तिसहित कारागारको पसलमा बढी रकम असुल्ने गरेको सार्वजनिक भएपछि स्थानीय प्रशासनले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले १० माघमा जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाएको थियो। त्यतिवेला जिल्ला प्रशासन कार्यालयले कारागारको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने–नगर्ने विषयमा कारागार व्यवस्थापन विभागको निर्देशनबमोजिम हुने गरी हाललाई उक्त प्रतिवेदन जानकारी, कार्यान्वयन, अध्ययन, निर्देशनका लागि विभाग पठाइएको जनाएको थियो।