कोशी प्रदेशको राजधानी विराटनगरलाई स्वच्छ, हराभरा बनाउने प्रतिबद्धता घोषणापत्रमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारहरूसँग हरियाली अभियन्ताहरूले आग्रह गरेका छन्। मोरङको ६ वटामध्ये तीनवटा निर्वाचन क्षेत्र समेटिएको प्रादेशिक राजधानी विराटनगर महानगरलाई सफा, स्वच्छ र हराभरा सहर बनाउने सवाल घोषणापत्रमा समावेश गर्न हरियाली अभियन्ताहरूले स्थानीय उम्मेदवार र राजनीतिक पार्टीहरूसँग आग्रह गरेका हुन्।
राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्रमा एजेन्डाहरू समावेश गरेमा विराटनगरलाई भारतको बेंग्लाेरजस्तै हराभरा, स्वच्छ सहर बनाउन सहयोग पुग्ने हरियाली अभियन्ता पारुल क्षेत्री बताउँछन्। उनका अनुसार विराटनगरलाई हराभरा बनाउन संघ र प्रदेश सरकार मात्र नभएर महानगरपालिकाले समेत विशेष योजना तयार गरेको छैन। यसैले पार्टी र उम्मेदवारहरूले स्वच्छ वातावरणसहित हरियाली मुद्दालाई उठाएमा भाषणबाट मात्र हाेइन, बजेटबाट पनि योजना कार्यान्वयनमा आउन सक्नेछ।
विराटनगर महानगरमा स्वस्फूर्त रूपमा हरियाली अभियन्ताहरूले निःशुल्क दशभन्दा हजार बढी बिरुवा रोपेर संरक्षण गरिरहेका छन् । तर, दिगो योजनाको अभावमा रोपिएका सबै बिरुवा संरक्षण हुन पाएका छैनन् । कुल ७६.९९ वर्गकिलाेमिटर क्षेत्रफल भएको विराटनगर महानगर काठमाडाैंभन्दा ठुलो महानगर हो । यहाँ करिब ५० हजार घरधुरीमा दुई लाख ५० हजारबराबर मानिस बसोबास गर्छन्। प्रादेशिक राजधानी मात्र नभएर औद्याेगिक र आर्थिक मुकाम पनि रहेको विराटनगरमा दैनिक हजारौँ मानिस आवातजावत गर्छन् ।
विराटनगर महानगरमा मोरङको ६ नम्बर क्षेत्रमा ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडा, ५ नम्बर क्षेत्रमा १३, १४, १५, १६, १७ र १८ नम्बर वडा र ४ नम्बर क्षेत्रमा १, २, ३, ८, १० र १९ नम्बर वडा पर्छन् ।