बागलुङमा दुई हजार ३०२ बालिकालाई एचपिभी खोप लगाइँदै

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

बागलुङ जिल्लामा यस वर्ष दुई हजार ३०२ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार फागुन महिनालाई खोप महिनाको रूपमा अभियान सञ्चालन गर्ने र सो अविधिमा बालिकाका लागि एचपिभी खोप अभियान सञ्चालन गरिने भएको हो । विशेष गरी कक्षा ६ मा अध्यनरत कुल दुई हजार २९१ छात्रा र विद्यालयबाहिर रहेका ११ जना गरी कुल दुई हजार ३०२ जना बालिकालाई यो खोप प्रदान गर्न लागिएको हो। 

निर्वाचनका कार्यक्रम छलेर भए पनि फागुन महिनालाई खोप महिनाको रूपमा नियमित बनाइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रवीण शर्माले जानकारी दिए । खोप निर्देशिकाबमोजिम तोकिएका उमेर समूहको कोही नछुटाउने गरी यही फागुन फागुन १ गतेदेखि १५ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा खोप सञ्चालन गरिने तयारी रहेको छ। जिल्लाका दशवटै स्थानीय तहका विद्यालय र विभिन्न खोप केन्द्रमा छुट्टाछुट्टै मितिमा खोप सञ्चालन गरिने जनस्वास्थ्य प्रशासक शर्माले जानकारी दिए । 

जिल्लामा कुल १८३ सामुदायिक विद्यालय, ३४ वटा संस्थागत विद्यालय, तीनवटा अन्य विद्यालय गरी कुल २२० वटा विद्यालयका साथै अन्य समुदायिकस्तरका खोप केन्द्र गरी कुल २९७ वटा खोप केन्द्रमार्फत बालिकालाई खोप प्रदान गरिनेछ । खोप सञ्चालनका निम्ति २९७ जना स्वास्थ्यकर्मी र २९७ जना नै स्वयंसेवक खटिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  

कार्यालय त्यसबाहेक नियमित खोप सेवा र छुटेका बालबालिकालाई पनि नियमित खोपमा जोड्ने काम गरिने जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । गत वर्ष अभियानको रूपमा सञ्चालन भएको यस खोप यस वर्षदेखि निरन्तर सञ्चालनमा आएको छ । गत वर्ष जिल्लामा ६ देखि १० कक्षासम्म अध्ययनरत ९८ प्रतिशत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ८५ प्रतिशत किशोरीलाई यो खोप प्रदान गरिएको खत्रीले जानकारी दिए । गत वर्षको अभियानमा छुटेका बालिकाहरूलाई पनि यस वर्ष खाेप लगाउनुपर्ने कार्यालयले बताएकाे छ । यस वर्ष जिल्ला खोप समन्वय समितिको बैठकले खोप लगाउन सबै स्वास्थ्यकर्मीलाई खटाएको हो । 

बागलुङ केन्द्रीय खोप निर्देशिकाबमोजिम नै फागुन महिनालाई खोप महिनाको रूपमा यो खोप सञ्चालन गर्ने मिति तय भएको छ । बागलुङ नगरपालिकाभित्र फागुनको १० गतेदेखि १५ गतेसम्म, गलकोट नगरपालिकामा फागुन १ देखि ५ गतेसम्म, ढोरपाटन नगरपालिकामा १० देखि १४ गतेसम्म र जैमिनी नगरपालिकामा १० देखि १२ गतेसम्म खोप सञ्चालन गरिने भएको हो । अन्य ६ गाउँपालिकामा पनि समय तोकिएको समय छ । 

गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप लगाइएको थियो । उक्त अवसरमा ११ हजार १७७ जनाले खोप लगाएका थिए । यो वर्ष पनि तोकेको लक्ष्यअनुसार सबैलाई खोप लगाइनेछ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्ष कक्षा ६ मा पढ्ने बालिकाबाहेक १० वर्ष उमेर समूहका ६ जना भने विद्यालयबाहिर रहेको तथ्यांक छ । उनीहरूलाई नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था खोप लगाइने भएको हो । 

बागलुङ नगरपालिकाले भने केही दिनदेखि नै नियमित अभियानमा छुटेका खोप लगाउने बालबालिका र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनुपर्ने बालिकाहरूको खोजी गरेको थियो । बजार क्षेत्रमा डेरा गरी बस्ने मजदुर तथा बसाइँ सरेर आउनेहरू खोप अभियानबाट छुटेको थाहा पाएपछि नगर स्वास्थ्य शाखाले खोजी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । 

हरेक वर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दै अद्यावधिकसमेत गर्नुपर्ने प्रावधान छ । त्यसका लागि यो अभियानले साथ दिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख  शर्माले बताए । आगामी वैशाख महिनाभित्र सबै खोप पूर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गरिनेछ । सबै पालिकापछि जिल्लालाई पनि घोषणा गर्ने लक्ष्यमा काम भइरहेको शर्माको भनाइ छ ।

नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने शर्माले बताए । 

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुनु हो । यो भाइरस दुई सयभन्दा धेरै प्रजातिका हुन्छन्, तर मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका हुन्छन् । तीमध्ये सबैभन्दा बढी जोखिम प्रकारका प्रजातिहरू १६ र १८ हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरूबाट भएको देखिन्छ ।

सुझावित समाचार