प्रेरक प्रसंग : गुरुलाई शिष्यको पत्र

सोमबार, २६ माघ, २०८२
डिजिटल संस्करण

पूजनीय गुरु,
म तपाईंको शिष्य सन्तु हुँ । सायद तपाईंलाई मेरो नाम याद नहोला । केही छैन, हामीजस्ता विद्यार्थीको नाम कसले पो याद राख्ला र ? यो चिठी म तपाईंलाई हुलाकी दाइबाट लेखाउँदै छु । गुरु, म तपाईंको स्कुलमा भर्ना हुँदा ६ वर्षको थिएँ । मेरा पिताले ठुलो सपना देखेर मलाई तपाईंको स्कुलमा भर्ना गर्नुभएको थियो । उहाँ आफ्नो छोरो आफूजस्तो मजदुरी गर्न विवश हुनु नपरोस्, उसले पढेलेखेर कुनै राम्रो काम गरोस् र सजिलोसँग साँझबिहान हातमुख जोर्न सकोस् भन्ने सामान्य सपना देख्नुभएको थियो । तर गुरु, तपाईंले उहाँको सपना चकनाचुर पारिदिनुभयो । आज म पनि उहाँले जस्तै मजदुरी गर्छु । मेरा सन्तान कैयौँ दिन भोको पेट सुत्न विवश छन् । म मेरा पिताभन्दा पनि गरिब भएको छु । 

सायद तपाईंलाई म यो सब किन बताइरहेको छु भन्ने लागिरहेको होला । तर, मेरो यो हालतको जिम्मेवार तपाईं हुनुहुन्छ । मलाई स्कुल आउँदा रमाइलो लाग्थ्यो. । म खुब मन लगाएर पढ्न चाहन्थेँ । पढेपछि ठुलो मान्छे बनिन्छ, पेटभरि खान पाइन्छ भन्ने मेरो मनमा कताबाट हो घुसेको थियो । तर, स्कुलमा कहिल्यै पढाइ हुँदैनथ्यो । तपाईं र तपाईंका सहकर्मी अन्य गुरुहरू कैयौँ दिनसम्म स्कुल नै आउनुहुन्नथ्यो । आए पनि हाजिरी गरेर गायब हुनुहुन्थ्यो । हामीले हिम्मत गरेर स्कुल किन आउनुभएन भनेर सोध्यौँ भने ‘काम थियो’ भन्नुहुन्थ्यो । आज मलाई सोध्न म छ– के तपाईंको त्यो ‘काम’ हामी गरिब बालबालिकालाई पढाउनुभन्दा पनि ठुलो थियो, हो?

तपाईंले हामीलाई किन पढाउनुभएन गुरु ? तपाईंको स्कुलमा पढ्ने बालक किन आज पनि मजदुरबाट माथि उठ्न सकेन र एउटा चिठी पनि अरूको हातबाट लेखाउन विवश छ ? के तपाईं आज मलाई त्यो शिक्षा दिन सक्नुहुन्छ ? के तपाईं मेरो बाल्यकाल फिर्ता गर्न सक्नुहुन्छ ? सक्नुहुन्न, होइन त ? जब फिर्ता गर्न सक्नुहुन्न भने खोस्नुभयो चाहिँ किन ? गुरु तपाईंसित अनुरोध छ, कृपया आज तपाईंको स्कुलमा जति बालबालिका छन्, तिनलाई लेखपढ गर्न सिकाउनुहोस् । तपाईंबाहेक उनीहरूको अर्को कोही छैन । उनीहरूको भरोसा नतोड्नुहोस् । उनीहरूको भविष्य अँध्यारो नबनाइदिनुहोस् गुरु ! 
हजुरको विद्यार्थी सन्तु

सुझावित समाचार