आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) तर्फबाट उम्मेदवार बनेका राजेन्द्रकुमार राईलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमार्फत झुटो आरोप लगाइएको भन्दै नेकपा एमाले धनकुटाले कडा आपत्ति जनाएको छ।
एमाले धनकुटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका लाक्पा तामाङले गलत मोबाइल नम्बर प्रयोग गरी झुटो र भ्रामक प्रचार गरेको आरोप लगाएको हो। पार्टीका अनुसार तामाङले दुई दिनअघि एमाले उम्मेदवार राईले धनकुटाको मुगा क्षेत्रमा एक भोटबराबर १० हजार रुपैयाँ वितरण गरेको दाबी गर्दै फोन रेकर्ड गरिएको अडियोलाई भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
तर, उक्त अडियो तथा भिडियो पूर्ण रूपमा नक्कली र बनावटी भएको एमाले धनकुटाले जनाएको छ। पार्टी अध्यक्ष शिव आङ्लाका अनुसार तामाङले गलत फोन नम्बर प्रयोग गरी नक्कली व्यक्ति खडा गर्दै भ्रमपूर्ण सूचना र सन्देश प्रवाह गरेका हुन्।
एमालेका अनुसार भिडियो तथा अडियोमा प्रयोग गरिएको भनिएको ‘भूपाल थापा’ नामक व्यक्ति र सो मोबाइल नम्बर दुवै नक्कली रहेको पुष्टि भएको छ। यस कार्यले निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित ऐन, कानुन र नियमको गम्भीर उल्लंघन गरेको पार्टीको ठहर छ।
एमाले धनकुटाले उम्मेदवार राईविरुद्ध झुटो आरोप लगाई निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटा, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा आवश्यक कानुनी कारबाही अघि बढाउन माग गरेको छ।
पार्टीले यस्ता भ्रामक, कपोलकल्पित र निराधार सामग्रीको प्रचार–प्रसार अविलम्ब नरोकिने हो भने आफूहरू प्रतिकारमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ।