६ महिनामा थपियो ४९५ मेगावाट विद्युत्

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण

नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता चार हजार ८६ मेगावाट पुुगेको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक पुस मसान्तसम्म विद्युत्को जडित क्षमता सो विन्दुमा पुगेको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको विवरणअनुसार राष्ट्रिय प्रसारण प्रणालीमा चार सय ९५ मेगावाट विद्युत् थप भएको छ । गत असारसम्म विद्युत्को जडित क्षमता तीन हजार पाँच सय ९१ मेगावाट थियो । 
गत असोजसम्म आउँदा त्यो थप बढेर चार हजार ४६ मेगावाट पुगेको थियो । पुस मसान्तसम्ममा भने त्यो चार हजार ८६ मेगावाट पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार हालसम्म सौर्य विद्युत् उत्पादन क्षमता ६२।७ मेगावाट पुगेको छ । साथै, लघु तथा साना जलविद्युत् आयोजनाबाट ४१।१६ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । यद्यपि, हिउँद लागेसँगै अहिले भारतबाट विद्युत् आयात भइरहेको छ । 

यसैगरी ६६ केभीमाथिका प्रसारणलाइनको कुल लम्बाइ सात हजार दुई सय ४७ मेगावाट पुगेको छ । ‘हालसम्म ६६ केभीभन्दा माथिका सात हजार दुई सय ४७ सर्किट किलोमिटर प्रसारणलाइन तथा १४१२३ एमभिए क्षमताको सबस्टेसन निर्माण भएका छन्,’ मन्त्रालयको प्रतिवेदनमा भनिएको छ । ३३ केभीको प्रसारणलाइन भने आठ हजार दुई सय १९ सर्किट किलोमिटर रहेको छ । यसअन्तर्गत तीन हजार एममभिए क्षमताको सबस्टेसन निर्माण भएको मन्त्रालयको भनाइ छ । हाल विद्युत् चुहावट १२।७३ प्रतिशत र प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० मेगावाट रहेको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा दुई हजार सात सय ७४ गिगावाट घण्टा विद्युत् निर्यात भएको छ । यसैगरी, एक सय २३ गिगावाट घण्टा बिजुली आयात भएको प्रतिवेदनमा उल्लेख छ ।

सुझावित समाचार