साबिक विजेता भारतले आइसिसी टी–२० पुरुष विश्वकपअन्तर्गत समूह ‘ए’मा शनिबार अमेरिकालाई २९ रनले पराजित गरेको छ । वानखेडे रंगशालामा पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा नौ विकेट गुमाएर १६१ रन बनाएको थियो । प्रत्युत्तरमा अमेरिकाले २० ओभरमा आठ विकेटको नोक्सानीमा १३२ रन जोड्दा भारतले आफ्नो पहिलो खेल २९ रनले बाजी मारेको हो ।
गत संस्करणको सुपर एटमा प्रवेश गरेसँगै अमेरिकाले सीधै १०औँ संस्करणमा स्थान रक्षा गरेको हो । सुरुवातमा ब्याटिङ गरेको भारत ११.४ ओभरमा ७७–६ को दयनीय अवस्थामा थियो । त्यसपछि कप्तान सूर्यकुमार यादवले ४९ बलमा १० चौका र चार छक्का प्रहार गरेपछि भारतले अमेरिकाविरुद्ध चुनौती लक्ष्य प्रस्तुत गरेकोहो । सूर्यकुमारले सर्वाधिक ८४ रनको योगदान दिए ।
ओपनर ईशान किसनले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरी २० रन तथा तिलक बर्माले १६ बलमा २५ रन जोडेका थिए । अमेरिकाका लागि साडेली भानले २५ रन दिएर चार विकेट लिएका थिए । अमेरिकाले लक्ष्य पछ्याएको इनिङ्समा राम्रो सुरुवात गर्न सकेन । इनिङ्सको ३.२ ओभरमा अमेरिकाले तीन विकेट गुमाउँदा स्कोर बोर्डमा १३ रन जोडेको थियो । त्यसपछि मध्यक्रम ब्याट्सम्यानले इनिङ्स सम्हाले पनि लक्ष्यसम्म अमेरिकालाई पुर्याउन सकेनन् ।
मिलिन्द कुमारले ३४ बलमा ३४ रन, सञ्जय कृष्णमूर्तिले ३१ बलमा ३७ रन जोडे । शुभम रञ्जितले २२ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ३७ रन जोडे । भारतका लागि बलिङमा अर्सदीप सिंहले १८ रनमा दुई विकेट लिए । मोहमद सिराजले २९ रनमा तीन विकेट हात पारे ।
नेदरल्यान्ड्सले दियो पाकिस्तानलाई कडा टक्कर
पूर्वविजेता पाकिस्तानले शनिबार एसोसिएट राष्ट्र नेदरल्यान्ड्सलाई तीन विकेटले हराएको छ । समूह ‘ए’को पहिलो खेल श्रीलंकाको कोलम्बोमा भएको हो । नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गरी १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रनको मध्यम योगफल खडा ग¥यो । प्रत्युत्तरमा पाकिस्तानले १९.३ ओभरमा सात विकेटको क्षतिमा एक सय ४८ रन बनायो ।
पाकिस्तानको जित त्यति सहज भएन । पाकिस्तानले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । नेदरल्यान्ड्सले लगभग पाकिस्तानमाथि दबाब बढाइसकेको थियो । पाकिस्तानलाई अन्तिम १२ बलमा २९ रन आवश्यकता थियो । प्रतिओभर कम्तीमा १५ रन जोड्नुपर्ने पाकिस्तानलाई थियो । इनिङ्सको १९औँ ओभरमा फहिम असरफले तीनवटा छक्का प्रहार गर्दै खेल पाकिस्तानतर्फ ल्याए ।
अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि पाँच रन मात्र चाहिएकोमा थियो । असरफले चौका प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए । असरफले ११ बलमा दुई चोका र तीन छक्का प्रहार गरी २९ रन जोडेका थिए । ओपनर सहिबाज फराहनले ३१ बलमा ४७ रन तथा सैम आयुबले १३ बलमा २४ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवड्र्सले सर्वाधिक ३७ रन बनाए ।
सेफर्डको ह्याट्रिकमा वेस्ट इन्डिज विजयी
विश्वकपअन्तर्गत समूह ‘सी’को पहिलो खेलमा पूर्वदुईपटकको विजेता वेस्ट इन्डिजले एसोसिएट राष्ट्र स्कटल्यान्डलाई ३५ रनले हराएको छ । कोलकाताको इर्डन गार्डेन रंगशालामा पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८२ रन जोडेको थियो । प्रत्युत्तरमा स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमा समेटियो । बंगलादेशले भारतमा विश्वकप नखेल्ने भएपछि आइसिसीले स्कटल्यान्डलाई अवसर दिएको हो ।
वेस्ट इन्डिजको जितमा सिमरोन हेटमेरले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ३६ बलमा ६४ रन जोडे । वेस्ट इन्डिजको जितमा रोमारियो सेफर्डले ह्याट्रिक विकेट लिएका थिए । टी– २० विश्वकपमा यो १०औँ ह्याट्रिक हो । उनले १७औँ ओभरमा ह्याट्रिक विकेट लिएका हुन् । सेफर्डले १७.२ ओभरमा म्याथ्यु क्रस, १७.३ ओभरमा माइकल लास्क र १७.४ ओभरमा ओलिभर डेभिडसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनले तीन ओभरमा २० रन खर्चिएर पाँच विकेट लिए । स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले ४२ रन बनाउन २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । टम ब्रुसले २८ बलमा एक चौका र दुई छक्कासहित ३५ रन जोडे ।