शनिबार १० बजेसम्मका मुख्य १० समाचार

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण

ओली झापामा मतदाता भेटघाटमा व्यस्त, ‘पैसा भेटिएको’ भिडियो एआईबाट बनाइएको दाबी

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापामा मतदातासँग भेटघाटमा व्यस्त छन्। उनले कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरिरहेका छन्।


यसै क्रममा स्थानीय मोहनबाबु शेर्माले देउवाको घरमा पैसा भेटिएको भन्ने विषयमा प्रश्न गरेपछि अध्यक्ष ओलीले त्यसलाई एआई  प्रविधिबाट बनाइएको भ्रामक सामग्री भएको बताएका छन्। स्थानीयले सोधेको प्रश्नमा ओलीले भने जवाफ दिँदै भने, यो एआईबाट बनाइएको हो। हजारको नोट मैले पनि देखेको हुँ।

ओलीले आफू सरकारमा पुगेपछि सबै किसिमका भ्रष्टाचारविरुद्ध कडा कारबाही गरिने प्रतिबद्धता जनाए। उनले भने, ‘म भ्रष्टाचार पनि गर्दिनँ र गर्नेहरूलाई पनि छाड्दिनँ।’ घर–घरमा लुकाइएका पैसाबारे अहिले जानकारी पाउन कठिन भए पनि सरकारमा पुगेपछि छानबिन गरेर कारबाही गरिने उनले स्पष्ट पारे।

टिकटकलाई ‘लत लाग्ने’ डिजाइन परिमार्जन गर्न इयूको निर्देशन

युरोपेली संघ (इयू) ले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई आफ्नो प्लेटफर्ममा प्रयोगकर्तालाई अत्यधिक रूपमा बाँध्ने (‘लत लाग्ने’) डिजाइनहरू सच्याउन निर्देशन दिएको छ। निर्देशन पालना नगरेमा इयूको डिजिटल सेवा ऐनअन्तर्गत कडा जरिवाना लगाइने चेतावनी पनि दिइएको छ।

करिब दुई वर्षअघि सुरु गरिएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै युरोपेली आयोगले टिकटकले विशेषगरी बालबालिका र संवेदनशील वयस्कहरूमा एपले पार्ने नकारात्मक प्रभाव न्यूनिकरण गर्न पर्याप्त कदम नचालेको जनाएको छ।

आयोगका प्रवक्ता थोमस रेग्नियरका अनुसार टिकटकमा रहेका निरन्तर चलिरहने भिडियो, स्वचालित सामग्री प्रवाह, अत्यधिक व्यक्तिगत सिफारिस प्रणाली तथा प्रचारात्मक सूचनाहरूले प्रयोगकर्तालाई लामो समयसम्म एपमा बाँधिराख्ने जोखिम बढाएका छन्।

टी–२० विश्वकप: पाकिस्तानले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित

टी–२० विश्वकपको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी सुरुवात गर्यो। १४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। फहिम असरफले ११ बलमा तीन छक्का र दुई चौकासहित अविजित २९ रन प्रहार गरे। साहिबजादा फरहानले ४७, साइम अयुबले २४ रन जोडे।

नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भयो। कप्तान स्कट इडवार्डस्ले ३७ र बास डी लिडेले ३० रन बनाए। पाकिस्तानका बलरमध्ये सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुब, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट हात पारे।

गाडीको ठक्करबाट १४ महिने नाबालकको ज्यान गयो

सदरमुकाम मन्थली बजारबाट करमबोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–८ च १२७२ नम्बरको बोलेरो गाडीले सडकछेउमा खेलिरहेका १४ महिने नाबालकलाई ठक्कर दिँदा उनको उपचारको क्रममा ज्यान गएको छ। 

शनिबार बिहान मन्थली नगरपालिका–१, आकाशेस्थित सडकको छेउमा घर भएकाले घरबाट निस्किएर घरकै छेउमा खेल्दै गरेका १४ महिनाका कृजल श्रेष्ठलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएका ती नाबालकको परिवार र छिमेकीहरूले घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा भर्ना गरेका थिए। 

आसन्न निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ : गृहमन्त्री अर्याल

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्। निर्वाचन सुरक्षासम्बन्धी अनुगमनका क्रममा धादिङ आइपुगेका गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय तथा पत्रकारहरूकर्मीसँग कुराकानी गर्दै शान्तिसुरक्षाको दृष्टिकोणले आवश्यक सबै तयारी पूरा भइसकेको बताएका हुन्।

उनले वर्तमान अन्तरिम सरकारले संविधान पुनर्बहालीका लागि निर्वाचन अनिवार्य भएकाले चुनावको मिति तय गरिएको स्पष्ट पार्दै भने, 'चुनावी सरकारबाटै सञ्चालन हुने यो निर्वाचनलाई पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाइनेछ।

गृहमन्त्री अर्यालले विगतमा दलीय सरकारले सञ्चालन गरेका निर्वाचनभन्दा यो निर्वाचन अझ सुदृढ र विश्वसनीय हुने दाबी गरे। यदि कतै गडबडी भयो भने त्यस्तो निर्वाचनलाई मान्यता दिइनेछैन। आवश्यक परेमा त्यही क्षेत्रमा निर्वाचन रद्द गरी पुनः निर्वाचन गराइने उनले बताए।

कार्यकर्तालाई गगन थापाले भने– कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याऔँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ गतेको जेन–जी आन्दोलन र २४ गतेको घटनाले  कांग्रेस सच्चिएको बताएका छन्। कांग्रेस काठमाडौं- ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरूसँग आग्रह गरे।

‘विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको सन्देश पुर्याउनुपर्नेछ,’ उनले भने। हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ जानुपर्ने बताउँदै उनले अब घर-घरमा गएर संवाद गर्नुपर्ने र जेन–जीका कुरा सुन्नुपर्ने उल्लेख गरे। सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुराको सामना गर्नुपर्ने भन्दै त्यसकै लागि विशेष महाधिवेशन भएको र नयाँ नेतृत्व आएको उल्लेख गरे। 

कमलका भूमिहीनले ओलीसँग भने– हामीलाई जग्गाको लालपुर्जा दिलाइदिनुस्

झापाको कमल गाउँपालिकामा रहेका भूमिहीनहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा विजयी बनेर आफूहरूलाई जग्गाको लालपुर्जा दिलाइदिन आग्रह गरेका छन्।

शनिबार मतदाता भेट्न सोही ठाउँ पुगेका ओलीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा बसोबाससम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर काम सुरु गरे पनि सरकार परिवर्तनसँगै ती प्रयासहरू अवरुद्ध भएको उल्लेख गरे। 

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ का उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले शनिबार कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयसँग भेट गरेका थिए।  

सेफर्डको ह्याट्रिक, वेस्ट इन्डिजको विजयी सुरुवात

रोमारियो सेफर्डले ह्याट्रिक विकेट लिएपछि वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। उसले स्कटल्यान्डविरुद्ध ३५ रनको जित निकालेको हो। शनिबार भारतको कोलकातास्थित इडेन गार्डेन रंगशालामा वेस्ट इन्डिजले प्रस्तुत गरेको १८३ रनको लक्ष्य स्कटल्यान्डले १८।५ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले ४२ रन बनाए। उनले २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। टम ब्रुसले २८ बलमा एक चौका र दुई छक्कासहित ३५ रन थपे। ओपनर जर्ज मन्सीले १५ बल खेल्दा तीन चौकासहित १९ रन जोडे।

पाँच वर्षमा रास्वपाले पनि काम नगरे, म आफैँ विकल्प खोज्छु : सभापति लामिछाने

 शुक्रबारबाट सम्पर्क कार्यलयहरुको उद्घाटन र कार्यकर्तासँग छलफल थालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिबार पनि यसलाई निरन्तरता दिएका छन् । शनिबार उनले चितवन क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका १० वटा वडामा सम्पर्क कार्यालयको स्थापना र कार्यकर्ताहरुसँग छलफल गरेका छन् । यस क्रममा बोल्दै उनले अबका दिनमा भ्रष्टाचार स्वीकार्य नहुने सन्देश दिए ।

उनले अहिलेको लडाई भनेको भ्रष्टचारीहरु र शुसासन चाहानेहरुकोबीचको भएको बताए । भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने भए आगामी प्रतिनिधिसभा निर्वाचनमा दुबै भोट घण्टीमा दिन आग्रह गरे ।‘यदि भ्रष्टाचार राख्ने हो भने राख्नुस्, मलाई केही भन्नु छैन,’ उनले भने, ‘तर सबै भ्रष्टाचार फाल्ने हो भने दुईवटै भोट घण्टीमा हाल्नुस् ।’ घण्टी चुनाव चिह्नले काम नगरे विकल्प खोजिने पनि उनले बताए ।

सल्यानका नागरिकले उम्मेदवारलाई र्याखर्याख्ती पारे

२१ फागुनको प्रतिनिधिसभाका उम्मेदवारहरू मतदाताको घरदैलोमा व्यस्त छन् । दलका उम्मेदवार पार्टी संयन्त्रमार्फत गाउँगाउँ पुगिरहेका बेला स्वतन्त्र उम्मेदवार पनि आफ्ना समर्थक, शुभचिन्तक, साथी समूहको प्रयोग गर्दै आफ्नो सक्रियता बढाइरहेका छन् । यसपटक भोट माग्न दरदैलोमा आएका उम्मेदवारसँग नागरिकले भावी योजना र एजेन्डा खोजेका छन् ।

शनिबार श्रीनगरमा सल्यानी युवा सञ्जालले आयोजना गरेको सल्यान संवाद जनताको सवाल उम्मेदवारको जवाफ कार्यक्रममा नागरिकले उम्मेदवारलाई आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, सडक, कृषि बेरोजगारीलगायतका विषयमा उम्मेदवारलाई खरा प्रश्न सोधेर र्याखर्याख्ती नै पारे । विगतमा भन्दा यस पटकको चुनावमा मतदाता सचेत र जागरुक देखिएका छन् । उनीहरूले उम्मेदवारले प्रतिबद्धता मात्र व्यक्त गर्ने होइन कि उक्त प्रतिबद्धता पूरा हुने योजनासमेत माग गरे ।

सुझावित समाचार