युरोपेली संघ (इयू) ले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई आफ्नो प्लेटफर्ममा प्रयोगकर्तालाई अत्यधिक रूपमा बाँध्ने (‘लत लाग्ने’) डिजाइनहरू सच्याउन निर्देशन दिएको छ। निर्देशन पालना नगरेमा इयूको डिजिटल सेवा ऐनअन्तर्गत कडा जरिवाना लगाइने चेतावनी पनि दिइएको छ।
करिब दुई वर्षअघि सुरु गरिएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै युरोपेली आयोगले टिकटकले विशेषगरी बालबालिका र संवेदनशील वयस्कहरूमा एपले पार्ने नकारात्मक प्रभाव न्यूनिकरण गर्न पर्याप्त कदम नचालेको जनाएको छ।
आयोगका प्रवक्ता थोमस रेग्नियरका अनुसार टिकटकमा रहेका निरन्तर चलिरहने भिडियो, स्वचालित सामग्री प्रवाह, अत्यधिक व्यक्तिगत सिफारिस प्रणाली तथा प्रचारात्मक सूचनाहरूले प्रयोगकर्तालाई लामो समयसम्म एपमा बाँधिराख्ने जोखिम बढाएका छन्। 'यस प्रकारको डिजाइन डिजिटल सेवा ऐनको स्पष्ट उल्लंघन हो,' उनले भने।
रेग्नियरले थपे, 'यी सुविधाहरूले विशेषगरी बालबालिकालाई बाध्यकारी रूपमा एप प्रयोग गर्न प्रेरित गर्छन्, जसले उनीहरूको मानसिक स्वास्थ्य र समग्र कल्याणमा गम्भीर असर पार्न सक्छ।' उनका अनुसार टिकटकले हालसम्म अपनाएका सुधारात्मक उपायहरू अपर्याप्त छन्।
यता टिकटकका प्रवक्ताले आयोगको निष्कर्ष अस्वीकार गर्दै यसले प्लेटफर्मको गलत र अपूर्ण चित्र प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्। 'हामी यी निष्कर्षविरुद्ध कानुनी तथा प्रक्रियागत रूपमा आवश्यक सबै कदम चाल्नेछौँ,' विज्ञप्तिमा उल्लेख गरिएको छ।
इयूले हालैका वर्षहरूमा ठूला प्रविधि कम्पनीहरूको शक्ति नियन्त्रण गर्न तथ्यांक संरचना र एल्गोरिदमसम्बन्धी कडा कानुनी व्यवस्था लागू गर्दै आएको छ। अधिकारीहरूका अनुसार हालसम्म टिकटकले इयूका नियामक निकायसँग सहकार्य गर्दै आएको छ।
'अब टिकटकलाई आयोगको निष्कर्षमा औपचारिक पहुँच दिइनेछ, ताकि उसले लगाइएका आरोपहरूको जवाफ दिन सकोस्,' एक अधिकारीले बताए।