गाडीको ठक्करबाट १४ महिने नाबालकको ज्यान गयो

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण

सदरमुकाम मन्थली बजारबाट करमबोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–८ च १२७२ नम्बरको बोलेरो गाडीले सडकछेउमा खेलिरहेका १४ महिने नाबालकलाई ठक्कर दिँदा उनको उपचारको क्रममा ज्यान गएको छ। 

शनिबार बिहान मन्थली नगरपालिका–१, आकाशेस्थित सडकको छेउमा घर भएकाले घरबाट निस्किएर घरकै छेउमा खेल्दै गरेका १४ महिनाका कृजल श्रेष्ठलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएका ती नाबालकको परिवार र छिमेकीहरूले घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा भर्ना गरेका थिए। 

उपचारका लागि भर्ना गरिएका ती नाबालकको मन्थली अस्पतालमा उपचार नभएपछि तत्काल थप उपचारका लागि काठमाडाैं लैजान अस्पतालले रेफर गरेको थियो। नाबालकलाई उपचारका लागि लैजाने तयारी गर्दागर्दै सोही अस्पतालमा नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए। 

पछिल्लो समय सदरमुकाम मन्थलीमा दैनिकजसो सडक दुर्घटना हुने गरेका छन्। ट्राफिक व्यवस्थापन फितलो हुँदा सवारीसाधन चालकको लापरबाही बढेको छ। केही दिनअघि सदरमुकाम मन्थलीको देवकोटा चोकमा रहेको जेब्राक्रसबाट सडक पार गर्दै गरेका एक विद्यार्थीलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको थियो। प्रहरीले सवारीसाधनको चेकजाँचमा ध्यान नदिँदा बजार क्षेत्रमा सवारीसाधनको गति तीव्र हुने गरेको छ। 
    

सुझावित समाचार