देशभरका साइकल क्लबहरूको प्रथम राष्ट्रिय भेलाले नेपाल साइकल महासंघ निर्माण गर्न तदर्थ समिति गठन गरेको छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवामा सम्पन्न साइकल क्लबहरूको भेलाले साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारुमगरको अध्यक्षतामा नौसदस्सीय तदर्थ समिति गठन गरेको साइकल सिटी भैरहवाका उपाध्यक्ष थिरेन्द्र श्रेष्ठले जानकारी दिए।
विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुस्कर शाहको उपस्थितिमा सम्पन्न भेलाले तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा जीवनकुमार श्रेष्ठलाई चयन गरेको छ। त्यसैगरी, उपाध्यक्षमा सुनिता गुरुङ, महासचिवमा सतिस निरौला, सचिव रामचन्द्र भट्ट, कोषाध्यक्ष कवि महर्जनलाई चयन गरेको छ। त्यसैगरी, सदस्यमा मचाकाजी महर्जन, विष्णुप्रसाद सापकोटा र अजय श्रेष्ठ रहेका छन्।
विभिन्न जिल्लाको जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आआफ्नो क्षेत्रमा सक्रिय रहेका देशभरिका साइकल संस्थाहरूलाई एकताबद्ध गरी अगाडि बढाउने उद्देश्यसहित महासंघ गठन प्रक्रिया सुरु गरिएको तदर्थ समितिका अध्यक्ष मगरले बताए। देशभर करिब ४० साइकल क्लबहरू दर्तामा रहेका छन्।
तदर्थ समितिले ६ महिनाभित्रमा विधान निर्माण गरी नयाँ नेतृत्व चयन गर्नेछ।