शुक्रबार १० बजेसम्मका मुख्य १० समाचार

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचनको ७२ घण्टाअगावै सीमानाका बन्द गरिने

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घण्टाअगावै बन्द  हुने भएको छ । 

शुक्रबार मोरङ जिल्लाको विराटनगरमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी)बिचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकमा सो निर्णय भएको हो । 

बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रणलगायत विषयमा  छलफल भएको थियो। 

साथै, सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपत् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत  दुवै पक्षबिच छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिए। 

त्यसैगरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुन सक्ने खतरा मूल्यांकन गर्ने,  शरणार्थी–आप्रवासीहरूको गतिविधिउपर निगरानी राख्ने,  विभिन्न तह बनाई चेकप्वाइन्ट र ब्यारियर खडा गर्ने, आपराधिक तत्त्वहरूबाट हुन सक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयमा समेत छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबिचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख  गरेका थिए। भारतीय एसएसबीका डिआइजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो  बनाउने प्रतिबद्धता व्यक्त गरे। 

बदलिएको कांग्रेसले देश बदल्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएर आएको कांग्रेसले देश बदल्ने बताएका छन्।

पार्टीको गण्डकी प्रदेश कार्यसमिति बैठकका लागि शुक्रबार पोखरा आएका थापाले जनताको घरदैलोमा जाँदा कांग्रेसले देश सम्हालेर सुधार गर्ने सन्देश लिएर जान आग्रह गरे।

सभापति थापाले सबै मतदाताका घरघरमा पुग्न र जनताका समस्यालाई धैर्यताका साथ सुन्नसमेत आग्रह गरेका छन्। राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति नागरिकमा रहेको चरम अविश्वासलाई सुधारबाटै जवाफ दिन आवश्यक रहेको उनले औँल्याए।

देश नै आत्मविश्वास गुमाएकोजस्तो अवस्थामा रहेकाले जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको भन्दै थापाले त्यसका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने प्रस्ट्याए।

हाल देशमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उल्लेख गर्दै सभापति थापाले भ्रष्टाचारविरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको दाबी गरे। ‘कांग्रेससँग जादुको छडी छैन, तर सही नियम, प्रक्रिया र संस्था बनाएर देश चलाउने क्षमता छ,’ उनले भने।

केन्द्रीय सुरक्षा समिति बैठक : चुनावमा ड्रोनको प्रयोग निषेध, सामाजिक सञ्जाल दुरुपयोगविरुद्धको कारबाहीलाई प्रभावकारी बनाइने

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। 

प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा  शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालयमातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। 

बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीहरूलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको गृह मन्त्रालयले जनाएको छ। 

गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना– २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले  बताए। 

यसरी हुँदै छ गहनापोखरी पुनर्निर्माण

काठमाडौंको हाँडीगाउँस्थित ऐतिहासिक गहनापोखरीको पुनर्निर्माण कार्य धमाधम चलिरहेको छ।

काठमाडौं महानगरपालिकाले पुरानै शैलीमा पोखरी निर्माण कार्य थालेको हो। अहिले पोखरीको वरिपरि ढुंगा राख्ने र फल्चा निर्माण गर्ने काम भइरहेको छ। 
प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वाेच्चबाट सदर

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वाेच्च अदालतले सदर गरेको छ। विशेषको आदेशविरुद्ध अधिकारी सर्वाेच्च गएकोमा शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासले विशेषको आदेश सदर गरेको हो।  

नलिन्चाेकको हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । जसमा विशेषले गत २१ मंसिरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।    हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको  दाबी गर्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सर्वाेच्चको आदेशसँगै अब विशेष अदालतबाट मुद्दाको फैसला नहुँदासम्म उनी कारागारमै बस्नुपर्ने भएको छ। अधिकारी डिल्लीबजार कारागारमा छन्।

आचारसंहिता उल्लंघन : ३४ मध्ये २४ ले जवाफ बुझाए

निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ दल तथा उम्मेदवारले जवाफ बुझाएका छन्।

शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनका क्रममा आयोगले सो जानकारी दिएको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो।

‘हामीले ३४ वटा राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ पाइसकेका छौँ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐनले कस्तो कसुरमा कस्तो सजाय गर्ने भन्ने प्रस्ट पारेकाले सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो। ‘केसअनुसार कानुनमा फरक–फरक व्यवस्था उल्लेख गरेका कारणले त्यसलाई फलो गरेर काम भइरहेको छ,’ उनले भने।

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भएको छ।

कुल दुई करोड तीन लाख २३ हजार मतपत्रमध्ये शुक्रबार बिहान ८ बजेसम्म ७० निर्वाचन क्षेत्रको मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ। मतपत्रको सात हजार १३४ वटा बाकस प्याकिङ भइसकेको साप्ताहिक पत्रकार सम्मेलनका क्रममा आयोगले जानकारी दिएको हो।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिसकेको जानकारी दिँदै आयोगले प्याकिङ तथा रुजुसमेत गरी मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएको जनाएको छ। 

आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी ३२ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ।

बालिका मृत्यु प्रकरणमा रास्वपाले भन्यो– न्याय सुनिश्चित गर्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट एक बालिकाको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र तथ्यपरक छानबिनका लागि सम्बन्धित निकायसँग पूर्ण सहकार्य गर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको दुःखद निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गहिरो पीडा र स्तब्धता पुगेको छ ।’ पार्टीले दिवंगत बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा डुबेको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

बैठकमै ढलेका सशस्त्र प्रहरीका एसपीको निधन

बैठकमा ढलेर बेहोस भएका सशस्त्र प्रहरीका एसपी राजेश घिमिरेको उपचारको क्रममा निधन भएको छ। शुक्रबार नेपाल–भारत सीमा समन्वय बैठकका क्रममा उनी ढलेका थिए।

उपचारका क्रममा उनको विराट मेडिकल कलेजमा मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले बताए।

 एसपी घिमिरे मोरङमा कार्यरत थिए। हालैमात्र उनको मोरङबाट मकवानपुरमा सरुवा भएको थियो। 

सशस्त्र प्रहरीका आइजिपीले लिए हिमाली र विकट क्षेत्रको वस्तुस्थितिबारे जानकारी

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हिमाली भेग तथा विकट ठाउँमा  काम गरिरहेका सशस्त्र प्रहरी कर्मचारी तथा कार्यालयहरूको अवस्था, मौसमी प्रतिकूलता, भौगोलिक अवस्था र वस्तुस्थितिबारे समेत जानकारी लिएका छन्। आगामी निर्वाचनबारे देशैभरिका प्रहरीलाई निर्देशन दिने क्रममा उनले शुक्रबार जानकारी लिएका हुन्। 

उनले निर्वाचनको समयमा आउन सक्ने कठिनाइ र चुनौतीलाई समयमा नै आकलन गरी निर्वाचन सुरक्षार्थ खटिने सुरक्षाकर्मी तथा सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी समाधान गर्ने तथा मौसम प्रतिकूलताका कारण हिमाली भेगहरूमा हिउँ पर्न सक्ने सम्भावना रहेको हुँदा वैकल्पिक मतदानस्थलको समेत पहिचान गर्न निर्देशन दिएका छन्। 

सुझावित समाचार