आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भएको छ।
कुल दुई करोड तीन लाख २३ हजार मतपत्रमध्ये शुक्रबार बिहान ८ बजेसम्म ७० निर्वाचन क्षेत्रको मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ। मतपत्रको सात हजार १३४ वटा बाकस प्याकिङ भइसकेको साप्ताहिक पत्रकार सम्मेलनका क्रममा आयोगले जानकारी दिएको हो।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिसकेको जानकारी दिँदै आयोगले प्याकिङ तथा रुजुसमेत गरी मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएको जनाएको छ।
आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी ३२ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ।