नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा चुनावी सभा आयोजना गर्ने भएको छ । आगामी निर्वाचनका लागि अर्थ तथा वाम राजनीतिक विश्लेषक डा. हरि रोकालाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको नेकपा खोटाङले सार्वजनिक गरेको चुनावी कार्यक्रमअनुसार फागुन ५ गतेदेखि १८ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहमा चुनावी सभा आयोजना गर्ने भएको हो ।
नेकपाको निर्वाचन परिचालन समितिले दिएको जानकारीअनुसार फागुन ५ गते बराहपोखरी गाउँपालिकाको धुर्तुङ, फागुन ६ गते जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजार, फागुन ७ र ८ गते खोटेहाङ गाउँपालिकाको खोटाङ बजार र सिम्पानी बजारमा चुनावी सभा आयोजना गर्ने भएको छ । यस्तै, फागुन ९ गते साकेला गाउँपालिकाको मात्तिम मानेभञ्ज्याङ र फागुन ११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमी बजार, फागुन १३ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार, फागुन १४ गते हलेसी तुवाचुङ नगरपालिकाको हलेसी बजार, फागुन १५ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको बुइपास्थित पञ्चदोबाटो, फागुन १६ गते ऐंसेलुखर्क गाउँपालिकाको ऐंसेलुखर्क बजार, फागुन १७ गते रावाबेँसी गाउँपालिकाको हरमटार र फागुन १८ गते दिक्तेल बजारमा चुनावी सभा आयोजना गरिएको छ ।
संविधानसभा सदस्यसमेत रहेका डा. रोकालाई विजयी गराउने नेकपा खोटाङले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राईको संयोजकत्वमा चुनावी कमान्डर तोकेर घरदैलो अभियान गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट यही माघ ७ गते सुरु गरिएको घरदैलो अभियान साकेला गाउँपालिका प्रवेश गरेको चुनाव प्रचारप्रसार समितिका संयोजक एवं पूर्वमन्त्री राजन राईले जानकारी दिएका छन् ।
उम्मेदवार डा. रोकाको चुनावी अभियानमा नेकपाका ६ जना पूर्वसांसद तथा मन्त्रीहरूका साथै केन्द्रीय नेताहरू सहभागी छन् । घरदैलो अभियानमा पूर्व सांसदहरू टंक राई र कुलप्रसाद फुयाँल, संविधानसभा सदस्यहरू समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्राेत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राई सहभागी भएका हुन् ।
चुनावी सभाका लागि घोषणापत्र तयार गर्ने काम भइरहेको नेकपाले जनाएको छ । उम्मेदवार डा. रोकाले कृषकहरूको आवाज बनेर प्रतिनिधिसभा छिर्नका लागि आफूले आगामी निर्वाचनका लागि उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा यस वर्ष पुरानै तीन राजनीतिक दल (कांग्रेस, एमाले र नेकपा) का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।