नवलपुरको मध्यविन्दु नगरपालिका बाहुनीकुना अरुणखोलामा महिलाको हत्या आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार विनयी त्रिवेणी गाउँपालिका– ५, सर्दी चुकाहानिवासी ३१ वर्षीय दीपक सुनार भन्ने वीरबहादुर विक र भारतको विहार मधौलिया घर भई मध्यविन्दु– ११ अरुणखोला बस्ने ४६ वर्षीय बहराम शाह कारागार चलान भएका हुन्।
उनीहरूले मध्यविन्दु– १० निवासी ३५ वर्षीया रिता मुसहरको हत्या गरी शव बोरामा पोको पारेर बाहुनीकुनास्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि कुसुन्डे सिँचाइको नहरमा फालेका प्रहरीेले जनाएको छ। गत पुस २३ गते बिहान महिलाको शव बोरामा पोको पारेर नहरमा फालिएको अवस्थामा फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरी उपरीक्षक खड्काका अनुसार वीरबहादुरले महिलालाई शाह बस्दै आएको घरमा ल्याएर चिर्पटले हानेर हत्या गरेकाे र शाहले बोरामा पोको पारेर फालेको बयान दिएका छन्। उनीहरूले हत्या किन र केका लागि गरेका हुन् भनेर नखुलाएको खड्काले बताए।