धनकुटामा १२ सयभन्दा बढी बालिकालाई एचपिभी खोप लगाइँदै

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

धनकुटामा माघ २७ गतेदेखि २९ गतेसम्म एक हजार २८६ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय धनकुटा तथा जिल्ला खोप समन्वय समितिले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा खोपबारे जानकारी गराएको हो।

जिल्लाका सातवटै पालिकाका कक्षा ६ मा अध्ययनरत १० वर्षमुनिका छात्रा र विद्यालयबाहिर रहेका बालिकालाई खोप दिइनेछ। त्यस्तै, गत वर्ष खोप लगाउन छुटेका ७ देखि १० कक्षामा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई पनि खोप लगाइने स्वास्थ्य कार्यालयकी प्रमुख सिर्जना बन्जाडेले बताइन्।

जिल्लाका १४१ वटा विद्यालय र ७३ वटा स्वास्थ्य केन्द्र गरी २१५ स्थानबाट खोप सेवा दिइनेछ। खोप कार्यक्रमका लागि २१४ स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालय प्रमुख बन्जाडेले बताइन्। चौबिसे गाउँपालिकाका १६ वटा विद्यालय र विद्यालयबाहिरका दुईजना गरी २०८ जना, छथरजोरपाटी गाउँपालिकाका १३ विद्यालय र विद्यालयबाहिरका चारजना गरी १४१ जना, साँगुरीगढी गाउँपालिकाका १४ विद्यालय र चार विद्यालयबाहिरका गरी १३३ जनालाई खोप लगाइनेछ।

त्यसैगरी, सहिदभूमि गाउँपालिकाका १५ वटा विद्यालय र चारजना विद्यालयबाहिरका गरी १५३ जना, धनकुटा नगरपालिकाका १५ विद्यालय र विद्यालयबाहिरका १६ जना गरी ३३३ जना, पाख्रीबास नगरपालिकाका १५ विद्यालय र चारजना विद्यालयबाहिरका गरी १३७ जना तथा महालक्ष्मी नगरपालिकाका २३ विद्यालयका १७१ छात्रालाई एचपिभी खोप लगाउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ।

सुझावित समाचार