लोकरक ब्यान्ड नेपथ्यले यो वर्षको नेपाल यात्रालाई हेटौँडाबाट भव्यतापूर्वक अघि बढाएको छ। बुधबार बेलुकी भुटनदेवी विद्यालयको मैदानमा यात्राको पहिलो ध्वनि गुञ्जिँदा हजारौँको संख्यामा उपस्थित दर्शक श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका थिए।
कार्यक्रममा ‘लामपाते सुरती’पछि पनि पुरानै गीतहरू ‘चरी मर्याे’ र ‘जोमसोमे बजारमा’बाट निरन्तरता पाइरहेको थियो। त्यसपछिको क्रममा दर्शकहरूलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले धौलागिरितिर आफूले यात्रा गर्दा तयार पारेको गीत सुनाए :
शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा
उनले कर्णाली भेगको दुःख र त्यसकै बिच पनि सन्तोष मानेर बाँचिरहेका बासिन्दाको खुसी अनुभव गर्न त्यसतर्फको यात्रा पनि जरुरी रहेको औँल्याउँदै भर्खरै तयार पारेको गीत ‘कर्नालीका छाइला’ पनि सुनाए। यसै क्रममा ब्यान्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाइएको थियो।
गायक अमृतले आफूलाई सघाउने साथीहरू ड्रमसेटमा ध्रुव लामा, बेसगितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीको परिचय गराएका थिए। हेटौँडाको कन्सर्ट सम्पन्न भएपछि नेपथ्य टोली बुटवल हिँडिसकेको छ। त्यहाँस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रामनगर’परिसरमा माघ २४ गते शनिबार ब्यान्डको प्रस्तुति रहनेछ। त्यसपछिको यात्रा क्रमशः नारायणघाट र बन्दीपुरतर्फको हुनेछ।
दर्शक सुविधालाई ध्यानमा राख्दै सबैजसो कन्सर्टहरूको अनलाइनबाटै सोझै टिकट काट्न सकिन्छ। अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइटमार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ।