लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल सिटी भैरहवाले हरेक वर्ष गर्दै आइरहेको बुद्ध ज्ञान साइकलयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । माघ २३ र २४ हुने बुद्ध ज्ञान साइकलयात्राको तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको र यात्रामा नेपाल र भारतका २२० साइकलयात्री सहभागी हुने साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले बताए ।
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्धस्थलहरूलाई समेटेर साइकल सिटी भैरहवाले २०८० देखि हरेक वर्ष निरन्तर रूपमा ‘बुद्ध ज्ञान साइकलयात्रा’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको सारु मगरकाे भनाइ छ ।
लुम्बिनीको पर्यटन प्रवर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय वृद्धिका लागि गर्न लागिएको ‘बुद्ध ज्ञान साइकलयात्रा’मा यस वर्ष भैरहवादेखि वाउन्नकोटी जंगल, गैडहवा, छपिया हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्मको साइकलयात्रा रहनेछ ।
सहभागीहरूलाई लुम्बिनी पुगेपछि मायादेवी मन्दिरपरिसरमा ध्यान, लुम्बिनीभित्र रहेका मोनाष्ट्र्रीहरूको अवलोकन गराइने जनाइएको छ। आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकिलिस्टहरूलाई सहभागिता गराई साइकलयात्रा गराउन लागेको अध्यक्ष सारु मगरले बताए ।