अमेरिका र रुसलाई आणविक हतियार नियन्त्रण सम्झौता गर्न गुटेरेसको आह्वान

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र रुसलाई छिटै नयाँ आणविक हतियार नियन्त्रण सम्झौता गर्न आह्वान गरेका छन् । दुई शक्ति राष्ट्रबिच कायम अन्तिम आणविक सन्धि न्यू स्टार्ट सम्झौता बिहीबार समाप्त भएको छ । योसँगै मस्को र वासिंटनलाई औपचारिक रूपमा आणविक हतियार वृद्धि गर्न रोक्ने अब कुनै पनि प्रावधान अस्तित्वमा छैनन् । यसले विश्वव्यापी आणविक हतियारको वृद्धि निम्त्याउने डर जगाएको छ । पोप, पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालगायत धेरै विश्वनेताले यसप्रति चिन्ता व्यक्त गरेका छन् । 

‘दशकौँ लगाएर हासिल भएको उपलब्धिको अन्त्य एकदम कठिन समयमा भएको छ । आणविक हतियारको प्रयोग हुने जोखिम दशकौँयताकै सबैभन्दा उच्च बनेको समयमा यो सम्झौताको समय सकिएको छ,’ महासचिव गुटेरेसले भने । 

गुटेरेसले वासिंटन र मस्कोलाई ‘ढिलाइ नगरी वार्ताको टेबलमा फर्कन र नयाँ आणविक हतियार नियन्त्रण ढाँचामा सहमत हुन’ आग्रह गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन्धिको समयसीमा एक वर्ष लम्ब्याउन प्रस्ताव गरेका थिए । तर, ट्रम्पले प्रस्ताव अस्वीकार गरिदिए । ट्रम्पले अब हुने कुनै पनि आणविक नियन्त्रण सम्झौतामा चीन पनि समावेश हुनुपर्ने बताउँदै आएका छन् । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार ट्रम्पले आणविक नियन्त्रणसम्बन्धी सम्झौताबारे अगाडि कसरी जाने भनेर पछि निर्णय लिने बताउँदै नयाँ सम्झौतामा चीनलाई पनि समावेश गर्नुपर्ने आह्वान दोहोर्याए ।

‘राष्ट्रपतिले विगतमा पनि स्पष्ट पारिसकेका छन् कि २१औँ शताब्दीको आणविक हतियार नियन्त्रणको सम्झौत चीनलाई समावेश नगरी अगाडि बढ्न सक्दैन । उनीहरूले अहिले द्रुत गतिमा विशाल भण्डार बनाएका छन्,’ रुबियोले भने ।

विश्वमा हाल रहेका आणविक हतियारमध्ये झन्डै ८० प्रतिशत संख्या रुस र अमेरिकासँग मात्र रहेका छन् । अमेरिका र रुसको भन्दा निकै कम भए पनि चीनले पछिल्लो समय आफ्नो आणविक हतियार भण्डार छिटो बढाइरहेको छ । चीनसँग अनुमानित ५५० रणनीतिक आणविक प्रक्षेपक रहेको छ । 

सुझावित समाचार