जिल्ला उद्योग वाणिज्य संघ लहान सिराहाको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदस्थापना समारोहमा ट्राफिक प्रहरी, पत्रकार महासंघ, घरेलु कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ। संघको लहानस्थित कार्यालयको सभाकक्षमा बिहीबार दिउँसो आयोजित एक समारोहमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, नेपाल पत्रकार महासंघ, सिराहा शाखा र घरेलु तथा साना उद्योग कार्यालयलाई एक–एक थान कम्प्युटर हस्तान्तरण गरिएको हो। संघका निवर्तमान अध्यक्ष विकास शारडाले गत भदौको जेन–जी आन्दोलनको क्रममा आगजनी हुँदा कार्यालयसँगै विद्युतीय उपकरणहरूसमेत जलाइएपछि कार्यालयबाट सहज सेवा प्रवाहका लागि कम्प्युटर उपलब्ध गराइएको बताए ।
उनका अनुसार वाणिज्य संघको हरेक गतिविधिमा सघाउँदै आएको र स्थानीय व्यापारी व्यवसायीहरूको समस्या उजागर गर्दै आएकाले दैनिक कार्यालय सञ्चालनका लागि महासंघलाई कम्प्युटर उपलब्ध गराइएको हो। त्यसक्रममा लहानस्थित क्यान्सर केयर सेन्टरलाई एक थान एसी उपलब्ध गराई जडानसमेत गरिएको उनले बताए। संघको ३५औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत ४ माघमा सम्पन्न मतदानमा निर्वाचित अध्यक्ष प्रदीप गुप्तासहितका पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले शपथ खुवाएका थिए ।
औद्योगिक ग्राम बनाउन जग्गाको प्रस्ताव
समारोहलाई सम्बोधन गर्दै लहान नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरलाई सगरमाथा अञ्चलकै व्यापारिक हब बनाउन पहल गरिनुपर्ने बताए। त्यसका लागि नगरपालिकाले लहान– ३ मा रहेको ७२ बिघा जग्गा पाँच वर्षका लागि सहुलियत दरमा लिजमा दिइने चर्चा गर्दै उनले भने, ‘त्यहाँ सडक, बिजुलीसहित पूर्वाधार खडा गरी औद्योगिक ग्राम बनाउने प्रस्तावना ल्याउनुस्, नगरले सक्दो समन्वय गर्नेछ ।’ नगरले सार्वजनिक शिक्षाका लागि गरेको लगानी र मिहिनेतअनुसार लहान पनि शैक्षिक हब बन्दै गएको उल्लेख गर्दै उनले भने, ‘स्थानीय व्यापारी, व्यवसायीहरूको पनि नगरको विकासमा सार्थक भूमिका रहनुपर्छ ।’
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुप्ताले खुला सिमानाको कारणले नगर क्षेत्रका व्यापारीहरूले भोग्दै आएको समस्याको विषयमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराए। ‘स्थानीय व्यापारीहरूले भोग्दै आएको व्यावसायिक सुरक्षाको समस्या कैयौँपल्ट सुनाइसक्यौँ,’ उनले भने, ‘कोभिडपछि थलिएका साना तथा मझौला र ठुला व्यापारीहरूको अवस्था उकास्न पेसागत महासंघसहित सरकारले पनि ध्यान दिनुपर्छ।’ कार्यक्रममा सिराहाका विभिन्न ठाउँका उद्योग वाणिज्य संघका प्रतिनिधिसहित महासंघका पूर्वपदाधिकारी, छिमेकी उदयपुर, सप्तरी, महोत्तरी, सर्लाही, चितवन, सिन्धुलीलगायतका जिल्लाका संघका पदाधिकारीहरूको उपस्थिति थियो ।