निर्वाचन खर्चमा नियन्त्रण गर्न मकवानपुरका उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न निर्देशन

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय हेटौँडाले निर्देशन दिएको छ। निर्वाचन आयोगबाट कार्यविधि प्राप्त भएपछि सबै उम्मेदवारलाई पत्राचार गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार यसअघि नै खाता खोलिसकेका उम्मेदवारले पनि निर्वाचन कार्यालयको सिफारिस लिएर उक्त खातालाई निर्वाचन प्रयोजनको खातामा रूपान्तरण गर्नुपर्नेछ। आयोगका कार्यालयबाट सिफारिस लिएर मात्र निर्वाचन खर्चका लागि बैंक खाता खोल्न पाउने व्यवस्था कार्यविधिमा उल्लेख भएको उनले बताए।

निर्वाचन आचारसंहिताअनुसार मकवानपुरमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने व्यवस्था छ। सो सीमाभन्दा बढी खर्च भए- नभएको अनुगमनको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौँडालाई दिइएको छ।

प्रमुख कोष नियन्त्रक दिनेश रेग्मीका अनुसार उम्मेदवारले सिफारिससहित खाता खोले–नखोलेको, एकभन्दा बढी प्रतिनिधिमार्फत खर्च गरिएको छ कि छैन भन्ने विषयमा अनुगमन भइरहेको छ। साथै, प्रचार–प्रसारमा सार्वजनिक सम्पत्ति प्रयोग गरिएको छ कि छैन, गैरसरकारी संस्था वा सार्वजनिक निकायबाट आर्थिक सहयोग लिइएको छ कि छैन, कोणसभा तथा आमसभामा हुने खर्च र आयोगले तोकेको खर्च सीमाभित्र प्रचार गरिएको छ कि छैन भन्ने विषयमा समेत निगरानी गरिनेछ।

यसअघि केही उम्मेदवारले निर्वाचनलक्षित बैंक खाता खोल्न निर्वाचन कार्यालयमा सोधपुछ गरे पनि स्पष्ट कार्यविधि नआएकाले सिफारिस दिन नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। मंगलबार कार्यविधि प्राप्त भएपछि निर्वाचन खर्चको सम्पूर्ण प्रक्रिया अनुगमनको दायरामा आएको प्रमुख कोष नियन्त्रक रेग्मीको भनइ छ।

सुझावित समाचार