विश्वकपमा टेस्ट राष्ट्रलाई हराउन सक्छौँ : रोहित

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले आइसिसी पुरुष टी–२० विश्वकपमा टेस्ट राष्ट्रलाई हराउन सक्ने आत्मविश्वास रहेको बताएका छन् । 

बिहीबार मुम्बईको वानखेडे रंगशालास्थित बिसिसिआई भवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै रोहितले पछिल्लो समय टेस्ट राष्ट्रसँग खेल्दै गएको अनुभव भएकाले टेस्ट राष्ट्रलाई हराउन खेल्ने बताएका हुन् । 

‘हामीले पछिल्लो समय टेस्ट राष्ट्रसँग खेल्दै आएका छौँ । त्यसैले पनि बढी आत्मविश्वास छ । हामी यसपटक टेस्ट राष्ट्रलाई विश्वकपमै हराउन सक्छौँ,’ राेहितले भने । 

नेपाल तेस्रोपटक विश्वकप खेल्न छनोट भएको छ । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । 

समूह ‘सी’मा रहेको नेपालले दुईपटकको विजेता वेस्ट इन्डिजसँगै एकपटकको इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीसँग खेल्दै छ । नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने कार्यक्रम रहेको छ । 

कप्तान रोहित यो विश्वकपपछि नयाँ खेलाडीका लागि थप भविष्य खोल्ने बताए । ‘हामीले सन् २०१४ को विश्वकप हेरेका थियौंँ । अहिले विश्वकप खेलिरहेका छौँ। हामीले विश्वकप खेल्दा थप नयाँ खेलाडी आउने विश्वाास छ ।’

रोहितले पत्रकार सम्मेलनमा बोल्दै देशलाई गौरवान्वित बनाउने गरी खेल्ने बताएका छन् ।

सुझावित समाचार