बर्दिया अस्पतालमा रेडियोलोजिस्टबाट अल्ट्रासाउन्ड सेवा सुरु

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

बर्दिया अस्पताल गुलरियामा पहिलोपटक रेडियोलोजिस्टबाट अल्ट्रासाउन्ड सेवा दिन थालिएको छ। अस्पतालमा रेडियोलोजिस्ट डाक्टर मोनु दहितबाट अल्ट्रासाउन्ड सेवा दिन थालिएको हो । अस्पतालमा दैनिक सयौँको संख्यामा बिरामी आउने गरेका छन्। अस्पतालमा दैनिक करिब ५० जना बिरामी  अल्ट्रासाउन्ड सेवा लिन आउने गरेका छन् ।

 रेडियोलोजिस्ट विशेषज्ञबाट सेवा पाउँदा  खुसी  लागेको गुलरिया नगरपालिका– ५ का अमरराज लम्सालले बताए। उनले भने, ‘रेडियोलोजिस्टबाट अल्ट्रासाउन्ड सेवा सुरु भएपछि सेवा लिन नेपालगन्ज, कोहलपुरलगायत अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्यसमेत भएको छ ।’

बर्दिया अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले चालू आर्थिक वर्ष ०८२/८३ को पुससम्म ६ हजार ४५०  जनाले,  आर्थिक वर्ष ०८१/ ८२ मा  १२ हजार ७६३ जनाले सेवा लिएका छन् । त्यसैगरी, आर्थिक वर्ष ०८०/८१ नौ हजार ९४५ जनाले, आर्थिक वर्ष ०७९/८० मा ११ हजार ८७४ जनाले अल्ट्रासाउन्ड सेवा लिएको जानकारी दिए । उनले भने,  ‘अस्पतालले रेडियोलोजिस्ट चिकित्सक नहुँदा पनि  अल्ट्रासाउन्ड सेवा भने  दिँदै आएको थियो ।’

रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर मोनु दहितले शरीरभित्रको अंगको रोग पत्ता लगाउन अल्ट्रासाउन्ड गर्ने गरिएको बताए। उनले भने, ‘अल्ट्रासाउन्डबाट शरीरका विभिन्न अंगका जाँच गर्न मिल्छ । जस्तै– पित्तथैली, कलेजो, पिसाबथैली, फियो, मिर्गौला, पाठेघर, डिम्ब, प्रोस्टेट, नवजात शिशुको मस्तिष्क, स्तनको जाँच, गर्भवती महिलाको जाँच, १८ हप्तादेखि २२ हप्ताको एनोमली स्क्यान  र हातखुट्टाको नशा जाँचलगायतका जाँच गर्न सकिन्छ ।’

पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा रेडियोलोजिस्ट चिकित्सक भए पनि सिटिस्क्यानको मेसिन नहुँदा अझै पनि बिरामी सिटिस्क्यान गर्न बाहिर जानुपर्ने बाध्यता रोकिएको छैन । लुम्बिनी प्रदेशको न्यूनतम सेवा मापदण्डमा अस्पतालमा पहिलो हुँदै आएको  छ । तैपनि प्रदेश सरकारले पर्याप्त मात्रा स्रोत र साधनको व्यवस्थापन गर्न सकेको छैन ।

सुझावित समाचार