धनकुटा नगरपालिका– ४, छारा गाउँ बरबोटेस्थित एक घरमा आगलागी हुँदा घर र भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ । आज बिहान करिब ९:४० बजे स्थानीय लोकबहादुर श्रेष्ठको भान्सा घरको चुलाेबाट वस्तुलाई खोले पकाउने क्रममा आगलागी भएको थियो ।
आगलागीबाट श्रेष्ठको टिनको छानो, ढुंगामाटोले बनेको दुईतले घर र टिनको छानो बाँसको टाँटीले बेरा लगाएको भान्साकोठा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले बताए ।
उक्त आगलागीलाई धनकुटा नगरपालिकाको दुईवटा दमकलसहित नेपाल प्रहरीको २० जना र सशस्त्र प्रहरीको १५ जना टोली परिचालन गरी आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । आगलागीबाट मानवीय, चौपायामा क्षति नभए पनि खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको डिएसपी महताेले बताए ।