- अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा सामग्री ल्याउन सहज ढुवानीलगायतका कारण यस क्षेत्रबाट उत्पादन तथा निर्यातको सम्भावना रहेको भनाइ
रुपन्देहीकेन्द्रित उद्योग क्षेत्रमा आफ्नो प्रविधि र लगानी गर्न तयार रहेको चीन र मलेसियाका लगानीकर्ताले बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा सामग्री ल्याउन सहज, पहाडी इलाका, जनशक्तिको पर्याप्तता, ढुवानी सहजतालगायतका कारण यस क्षेत्रमा भएको उत्पादन निर्यातको सम्भावना देखिएको उनीहरूको भनाइ छ ।
मलेसियाका स्टेवार्ड चोङ, चीनका जोएसन छिन, भेलिरिन क्विन, मार्क लाइकको टोलीले यो क्षेत्रको फोहोर प्रशोधन गरी वस्तु उत्पादन तथा निर्यात गर्न सकिने सम्भावनासहितका धारणा राखेका छन् । टोलीको नेतृत्व गरेका मलेसियाको जेबिसी र जेडिएफका अध्यक्षसमेत रहेका स्टेवार्ड चेनले नेपालीले आयात गर्ने नभई निर्यात गर्ने वस्तु उत्पादन गर्नुपर्ने बताएका छन् ।
उनीहरूको भ्रमण टोलीलाई संयोजन गरेका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले कानुनी उल्झन नभए र लगानीको वातावरण बनाउन सके यस्ता खालका लगानीकर्ता धेरै आउन चाहेको बताए । ‘चाइनिज, मलेसियनसहित विश्वका धेरै देशका लगानीकर्ता यहाँको प्रशस्त सम्भावना देखेर लगानीका लागि तयार छन्, तर यहाँ ससाना स्वार्थका कारण हुने विवादमा उनीहरू जोडिन चाहँदैनन्,’ उनले भने ।
यो टोलीले रुपन्देही उद्योग संघको टोलीसँग यहाँ आएर लगानीको वातावरणका विषयमा पनि छलफल गरेको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले लगानी अध्ययनका लागि आएको टोली यहाँको वातावरण हेरेर निकै सन्तुष्ट भएको र अब यसका विषयमा सबैले चासो दिएर समन्वय गर्नुपर्ने जनाए । ‘चिनियाँ र मलेसियन लगानीकर्ताको टोलीले यहाँ लगानी गरेर निर्यात गर्न सकिने विषयमा हामीसँग मिहीन छलफल चलाएको छ, यसमा हामीहरू सकारात्मक छौँ,’ उनले भने ।