उपभोक्ता अदालतका अध्यक्षमा भट्ट सिफारिस

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

न्यायपरिषद्ले उपभोक्ता अदालतका अध्यक्षमा दिवाकर भट्टलाई तोक्न परामर्श दिएको छ । परिषद् प्रवक्ता रामप्रसाद भट्टराईका अनुसार बुधबार बसेको बैठकले उक्त अदालतको अध्यक्ष पदमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टको नाम तोक्न परामर्श दिने निर्णय गरेको हो । 

त्यस्तै, बिमा ऐन, २०७९ को दफा १४७ (१) को कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनका लागि ७७ वटै जिल्ला अदालतलाई तोक्न परामर्श दिने निर्णयसमेत बैठकले गरेको छ । ऐनको उक्त उपदफामा दफा १४० बमोजिमका कसुरको कारबाही र किनारा गर्ने अधिकार नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अदालतलाई हुने उल्लेख छ । दफा १४० मा बिमासम्बन्धी कसुर छन् । 

इजाजत नलिई बिमासम्बन्धी व्यवसाय गरेको, बिमासम्बन्धी जालसाजी गरेमा, कुनै पक्षसँग मिलेर बिमा दाबी गरेमा वा भुक्तानी गरेमालगायतका कसुर अब जिल्ला अदालतले हेर्न मिल्ने गरी सरकारलाई सिफारिस गरिएको हो । बिमासम्बन्धी यी सबै कसुर जिल्लाले हेर्ने गरी परामर्श दिएपछि सरकारले निर्णय गर्ने र राजपत्रमा प्रकाशित भएपछि सबै जिल्ला अदालतले यससम्बन्धी कसुरमा सुरु कारबाही किनारा गर्न पाउनेछन् । 

२० जिल्ला न्यायाधीशको पदस्थापन
न्यायपरिषद्ले नवनियुक्त २० जिल्ला न्यायाधीशको पदस्थापन गरेको छ । निर्णयअनुसार कर्णबहादुर राई, वासुदेव पाण्डे र वीरेन्द्रप्रकाश खड्कालाई मोरङ पदस्थापन गरिएको छ भने हिरामाया अवाललाई धनुषा जिल्ला अदालतमा जिम्मेवारी तोकिएको छ । त्यस्तै, शिशिरकुमार यादव, शिवप्रसाद आचार्य र गोपालबहादुर भट्टराईलाई काठमाडौं जिल्ला अदालतमा पदस्थापन गरिएको छ । 

रौतहटमा ललित सापकोटालाई र उदयपुरमा खेमकुमारी बस्नेतलाई जिम्मेवारी दिइएको छ । सप्तरी जिल्ला अदालतमा महेन्द्रप्रसाद पौड्याल, गोकुल पन्त र बाबुराम भट्टराईको पदस्थापन गरिएको परिषद्ले जनाएको छ । ताराप्रसाद डाँगीलाई दाङ, डिल्लीप्रसाद आचार्यलाई झापा, हिरालाल भुसाललाई कास्की, सुमन पाण्डेलाई रुपन्देही, ठाकुरप्रसाद बस्ताकोटीलाई सिराहामा पदस्थापन गर्ने निर्णय भएको छ । यसैगरी, विकास बस्नेत, इन्दिरा कार्की र टेकराज भुसाललाई सुनसरी जिल्ला न्यायाधीशका रूपमा पदस्थापन गरिएको छ । 

१० न्यायाधीशको सरुवा
परिषद् बैठकले १० न्यायाधीशको सरुवाको निर्णयसमेत गरेको छ । धनुषाकी अनुपमा पन्त, बारा जिल्ला अदालतका भोलानाथ ढकाल र काठमाडौं जिल्ला अदालतका मदनबहादुर धामीलाई न्यायपरिषद् ल्याइएको छ । काठमाडौं जिल्ला अदालतमा रौतहटमा कार्यरत विमला रेग्मी, रुपन्देहीका नारायण सापकोटा र दाङकी प्रतिमाकुमारी पोखरेल भट्टराईलाई ल्याइएको छ । कैलालीका हरिसिंह धामीलाई रौतहट, काठमाडौंका ढाकाराम पौडेललाई ललितपुर, मोरङका बाबुराम सुवेदीलाई बारा र काठमाडौंमा कार्यरत प्रकाशकुमार अधिकारीलाई पनि बारामा सरुवा गरिएको छ । 

सुझावित समाचार