मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । ०७९ मा स्थापना भएको यस विश्वविद्यालयले २५ माघमा चित्लाङस्थित आफ्नै परिसरमा पहिलोपटक दीक्षान्त समारोह मनाउन लागेको हो ।
समारोहमा विश्व प्रख्यात शिक्षाविद् तथा वैज्ञानिकहरूको सहभागिता हुने विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा उच्च शिक्षाका विज्ञ डा. जमिल साल्मी हुनेछन्। उनी विश्व बैंकको उच्च शिक्षा संयोजक, डिएगो पोर्टल्स विश्वविद्यालय चिलीमा उच्च शिक्षा नीतिका सम्मानित प्राध्यापकसमेत हुन् ।
त्यस्तै, क्यानडाकी प्रा. सुजन फोर्टियर र सिंगापुरका प्रा. सीराम रामकृष्ण पनि अतिथिका रूपमा रहने विश्वविद्यालयका सहायक प्राध्यापक डा. राजीव सुब्बाले जानकारी दिए। म्याकगिल विश्वविद्यालयमा उपकुलपति एवं क्यानडाको प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान परिषद्की अध्यक्ष रहेकी प्रा. फोर्टियर अनुसन्धान र नवप्रवर्तनमा परिवर्तनकारी योगदानका लागि हुन् भने प्रा. रामकृष्ण इलेक्ट्रोस्पिनिङ र न्यानो प्रविधिका अग्रणी वैज्ञानिक हुन् । हाल उनी चीनको सिंह्वा विश्वविद्यालयका चेयर प्रोफेसर तथा चिनियाँ विज्ञान प्रतिष्ठानका प्राज्ञ पनि छन्। दीक्षान्त समारोहको सभापतित्व विश्वविद्यालय बोर्ड अफ ट्रस्टिजका अध्यक्ष पद्म ज्योतिले गर्नेछन् ।
विश्वविद्यालयमा हाल जैविक कृषि, वन्य जैविक स्रोत, दिगो तथा उत्थानाशील पूर्वाधार, कृत्रिम बौद्धिकता तथा तथ्यांक विज्ञानको स्नातकोत्तर र विद्यावारिधिका कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन् । उक्त कार्यक्रममा ६६ जना विद्यार्थीहरू अनुसन्धानरत छन्। यस वर्ष तीनजना विद्यार्थीहरू दीक्षित हुनेछन्।