बंगलादेश र भारत पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप २०२६ को फाइनलमा पुगेका छन्। बुधबार लिग चरणका खेल सकिएसँगै शनिबार उपाधिका लागि लड्ने दुई टोलीको टुंगो लागेको हो।
प्रतियोगितामा अपराजित रहेको डिफेन्डिङ च्याम्पियन बंगलादेश ९ अंकसहित शीर्ष स्थानमा रहँदा दुई जित र एक हारसहित भारत ६ अंक जोडेर दोस्रो स्थानमा छ। सहभागी चार टोलीमध्ये एकमा जित र दुईमा पराजित भएको नेपालसँगै तीनैवटा खेलमै पराजित भुटान प्रतियोगिताबाट बाहिरिएका छन्।
लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार नेपाल बंगलादेशसँग ०–४ गोल अन्तरले पराजित हुँदा भारतले भुटानलाई ८–० गोलले हरायो। खेलको ३ मिनेटमा बंगलादेशकी प्रोतिमा मुन्डाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा अल्पी अख्तरले टोलीको अग्रता दोब्बर पारिन्। दोस्रो हाफको ६७ र ८२ मिनेटमा अल्पी अख्तरले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
अर्को खेलमा भारतले भुटानलाई ८–० गोलले पराजित गरेको छ। भारतको जितमा पर्ल फर्नान्देजले ह्याट्रिक गरिन्।