जसपा नेपालमा प्रवेश गरे संविधानसभा सदस्य जयप्रकाश यादव

मंगलबार, २० माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं संविधानसभा सदस्य जयप्रकाश यादव जसपा नेपालमा प्रवेश गरेका छन्। बारानिवासी यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पार्टीमा स्वागत गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले देशको वर्तमान राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, मधेशका अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट र जनमुखी रहेको भन्दै त्यसैमा विश्वास गरेर पार्टी प्रवेश गरेको बताए।

घर फिर्ती अभियान प्रभावकारी बन्दै

जसपा नेपालले करिब चार महिनाअघि सुरु गरेको 'घर फिर्ती अभियान' अहिले झन् प्रभावकारी बन्दै गएको छ। अन्य ठुला र साना पार्टी छोडेर जसपा नेपालमा प्रवेश गर्नेको संख्या बढ्दो छ। विगतमा पार्टी छोडेका नेता तथा कार्यकर्ताहरू पुनः धमाधम पार्टी प्रवेश गर्न थालेका छन्।

यसैक्रममा, मंगलबार नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका छन्। सप्तरी क्षेत्र नं. ३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरीसहितका नेताहरूलाई गम्छा लगाएर पार्टीमा भित्र्याएका छन्।

चौधरी पहिले जसपा नेपालकी केन्द्रीय सदस्यको जिम्मेवारीमा थिइन्। पार्टी विभाजन हुँदा उनी पार्टी छोडेर नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। उनी थारू कल्याणकारी सभाकी केन्द्रीय सदस्य एवं नेपाल आदिवासी जनजाति महासंघ, मधेश प्रदेशकी उपाध्यक्षसमेत हुन्।

यस्तै, कलाकारिता क्षेत्रमा सक्रिय थारू नेता गोपालप्रसाद चौधरी पनि सोमबार पार्टी प्रवेश गरेका थिए। युवा नेता शिवशंकर यादव ‘शिवम्’ पनि जसपा नेपाल प्रवेशसँग जोडिएका छन्। पार्टी विभाजनको समयमा उनी अशोक राई नेतृत्वको जसपामा रहेका थिए।

जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहले बताए अनुसार मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका यी नेताको प्रवेशले युवा संगठनमा थप ऊर्जा मिल्नेछ। उनले भने, 'मधेशमा जसपा बलियो हुँदै छ। अब हामी चुनावमा हाम्रो एजेन्डाअनुसार काम देखाउनेछौँ। हाम्रो जुन एजेन्डा छ,  सबै पूरा गर्न हामी फेरि क्रान्तिको अभियान सुरु गरेका छौँ।'

सुझावित समाचार