रोल्पाका मतदाताहरूले विकासको काममा ढिलासुस्ती भएकोमा उम्मेदवारहरूसँग गुनासो गरेका छन्। पहिलेको तुलनामा विकास भए पनि अझै न्यून रहेको र अघि बढेका काममा पनि ढिलासुस्ती भइरहेको उनीहरूको गुनासो छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट रोल्पाको उम्मेदवार रहेका पूर्वअर्थमन्त्री वर्षमान पुनसँग मतदाताले गुनासो गर्दै आफ्ना माग सुनाएका हुन्।
घरदैलोका क्रममा मतदाताले विकास निर्माणसँग सम्बन्धित सुझावहरू धेरै आएको उनले बताए । ‘मतदाताका माग स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, खानेपानी र सञ्चारसँग सम्बन्धित धेरै छन्,’ उनले भने । मतदाताले पहिलाको तुलनामा जिल्लामा भौतिक पूर्वाधारको विकास धेरै भए पनि पर्याप्त नभएको विषयमा ध्यानाकर्षण गराएको पुनले उल्लेख गरे । कतिपय मातदाताले चालू आयोजनामा निर्माण व्यवसायीबाट हुने गरेका ढिलासुस्ती, आयोजनाको गुणस्तर तथा सरकारी निकायको फितलो अनुगमनजस्ता विषयमा जनप्रतिनिधिको रूपमा थप भूमिका खेलिदिन सुझाव दिएका छन् ।

राजनीतिक रूपमा सचेत आफ्ना मतदाता सांसदको विधायकी कामबारे स्पष्ट रहे पनि जनप्रतिनिधिका रूपमा विकास निर्माणका काममा पुलको भूमिका खेल्नुपर्ने सुझाव आउने र त्यसलाई उम्मेदवारहरूले स्वीकार गर्नुपर्ने तर्क पुनको छ । ‘सांसदले मेरो भूमिका कानुन बनाउने हो, विकास निर्माण गर्ने होइन भनेर पन्छिन सक्ने वा मिल्ने अवस्था छैन,’ उनी भन्छन्, ‘एउटा सांसद मतदाताको प्रतिनिधि हो, विकासे एजेन्ट पनि हो अभिभावक पनि हो र सेवक पनि हो ।’
विकास माग्ने मतदातालाई पुनले विगतदेखि नै जिल्लाको विकासमा भूमिका खेलेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउने गरेका छन् । सांसद मात्र हुँदा वा मन्त्रीको भूमिकामा रहँदा जिल्लाको समग्र विकासमा अधिकतम प्रयत्न गरेको र आगामी दिनमा पनि मतदाताको सुखदुःखमा सँगै रहने पुनको प्रतिबद्धता छ ।
०७९ को निर्वाचनको पूर्वसन्ध्यामा जन्डिसबाट थलिएका उनले मतदाताको घरघर पुगेर भोट माग्न नपाएको र यसपटक भने जिल्लाका सबै वडामा पुग्ने लक्ष्य रहेको पुनले बताए । एक नगरपालिका र नाै गाउँपालिका गरी १० स्थानीय तह रहेको रोल्पामा ७२ वडा छन् । ‘यसअघिको चुनावमा बिरामी थिएँ । स्वास्थ्य समस्याले सबैतिर पुग्न सम्भव भएन,’ पुनले भने, ‘यसपटक सबै वडामा पुग्छु । मतदातासँग प्रत्यक्ष साक्षत्कार गर्छु र सुझावहरू लिन्छु ।’