प्लानिङ ब्वाइज क्लबले राष्ट्रिय लिगका बाँकी खेलका लागि फ्रान्सका स्ट्राइकर पापा इबोउ केबेलाई अनुबन्ध गरेको छ ।केबे मंगलबार नेपाल आइपुगेका हुन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा प्लानिङ ब्वाइजका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।
‘बाँकी खेलमा अझै टिम मजबुत बनाउन सेन्टर फरवार्ड केबेलाई अनुबन्ध गरेका हौँ,’ प्लानिङका अध्यक्ष दावा लामाले बताए, ‘उनको आगमनले टिम बलियो हुने विश्वास लिएका छौँ ।’ सेनेगलमा जन्मिएका केबे नेपाली फुटबलमा परिचित नाम हो । उनले तेस्रो नेपाल सुपर लिग च्याम्पियन ललितपुर सिटीबाट खेलेका थिए । फाइनलमा पोखरा थन्डर्सलाई २–१ ले हराउँदा केबेले नै विजयी गोल गरेका थिए ।
केबेले एनएसएलमा ६ खेल खेल्दा दुई गोल गरेका थिए । अर्को गोल उनले दोस्रो क्वालिफायर्समा धनगढीविरुद्ध गरेका थिए ।अघिल्लोपटक सहिद स्मारक बी डिभिजनबाट प्लानिङ ए डिभिजन लिगमा बढुवा भएको हो । तेस्रोपटक आयोजना भएको राष्ट्रिय लिगमा प्लानिङले पाँँच खेल खेल्दा तीन खेलमा जित निकालेको छ । समान एक खेलमा बराबरी र पराजित भयो ।