मोरङको रंगेलीमा एक नवविवाहित जोडी मृत अवस्थामा फेला परेका छन। रंगेली नगरपालिका– ५, धनपट्टीमा २१ वर्षीय मुकेश यादव र सोही उमेरकी उनकी पत्नी अम्बिकादेवी मंगलबार बिहान घरमै मृत अवस्थामा फेला परेका हुन् ।
रंगेली नगरपालिका– ५, बहुवन घर भएका २१ वर्षीय मुकेशकुमार सोमबार धनपट्टीस्थित ससुराली घरमा गएका थिए । राति श्रीमतीसँगै सुतेका श्रीमान् मुकेश र उनकी श्रीमती अम्बिका बिहान ३ बजेतिर रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा पुगेको प्रहरीका अनुसार श्रीमती अम्बिकाको शरीरमा धारिलो चक्कु प्रहार गरेको पाइएको छ भने श्रीमान् मुकेशको घाँटीमा धारिलो हतियारको चोट छ ।
गाउँले र परिवारले प्रहरीलाई दिएको जानकारीअनुसार सोमबार राति ससुराली घर पुगेका मुकेशले मंगलबार बिहान ३ बजेतिर पुगेर श्रीमती अम्बिकाकुमारीलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए । त्यसपछि उनले आफूले पनि सोही हतियारले प्राण त्याग गरेको बताइएको छ । घटना अनुसन्धान गर्न मोरङका एसपी कवित कटुवाल आफैँ घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् ।