मकवानपुरको थाहा नगरपालिकामा सोमबार राति एक पोथी चितुवा मृत अवस्थामा फेला परेको छ। थाहा नगरपालिका– ९, चित्लाङस्थित महालक्ष्मी खोलाको किनारमा वयस्क पोथी चितुवा मृत भेटिएको हो।
इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरीक्षक दीननाथप्रसाद यादवका अनुसार ३९ केजी अनुमान गरिएको चितुवाको मुखबाट रगत बगेको अवस्थामा फेला परेको छ। उनले चितुवाहरू आपसमा जुध्दा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए। ‘चितुवाको शरीरमा बाह्य चोट देखिएको छ, आपसमा जुधेर मरेकोजस्तो देखिन्छ,’ उनले भने।
करिब १७० सेन्टिमिटर लम्बाइ भएको उक्त चितुवा करिब चार वर्ष उमेरको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पुस्कर बोगटीका अनुसार मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा चितुवालाई चित्लाङस्थित गोदाम चौरमा लगेर व्यवस्थापन गरिएको छ।